विदेश

अमेरिकाद्वारा अफगानिस्तानमा 'मदर बम' आक्रमण, ९४ लडाकु मारिए

अमेरिकाद्वारा अफगानिस्तानमा 'मदर बम' आक्रमण, ९४ लडाकु मारिए
वैशाख - २ । अफगानिस्तानको पूर्वी प्रदेश नानगारहारमा भएको “मदर बम” आक्रमणमा परी मृत्यु हुने इस्लामिक स्टेट (आइएस) लडाकुको सङ्ख्या ९४ भन्दाबढी पुगेको छ । गत बिहीबार अमेरिकाले गरेको सो बम हमलालाई अहिले सम्मकै सवै भन्दा शक्तिशाली बम हमलाको रुपमा लिइएको छ । पहिलो पटक भएको सबैभन्दा शक्तिशाली बम हमलामा परी मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अफगानी अधिकारीले बताएका छन् । बमहरुको आमा मानिने एमओएबी बम आइएस लडाकूको दरिलो प्रभाव रहेको क्षेत्रमा प्रहार गरिएको अधिकारीले बताएका छन् । उक्त बमको शक्ति ११ टन टीएनटी बराबर भएको बताइएको छ । इराकसँग युद्ध भएका बेला बनाइएको शक्तिशाली बम तीन महिनामा तयार भएको थियो । छोटो समयमा बम बनाइएपछि १३ दिनको अवधिमा तीन पटकसम्म यसको सफल परीक्षण गरिएको थियो । एयर फोर्सका अनुसार पछिल्लो समय यसको परीक्षण २००३ मा भएको थियो । पाकिस्तानको सीमा क्षेत्रमा पर्ने नानगारहार प्रान्तको आचिन जिल्लामा बिहीबार झन्डै नौ मिटर लामो उक्त बम खसालिएको थियो । सुरुङभित्र रहेका आइएस लडाकूलाई लक्षित गरी अमेरिकी विमानमार्फत आक्रमण भएको बताइएको छ । घटनास्थल अफगानिस्तानको निकै दुर्गम र पहाडी क्षेत्र भएकाले कुनै सर्वसाधारण नरहेको अमेरिकी पक्षको दाबी र विश्वास रहेको छ । आचिन जिल्लाका गभर्नर स्माइल शिनवारीले आक्रमणमा परी कम्तीमा पनि ९२ जना आइएस लडाकु मारिएको शनिबार एएफपीलाई जानकारी दिए । नानगारहार प्रान्तका प्रान्तीय प्रवक्ता अताउल्लाह खोग्यानीले पनि कम्तीमा ९० जनाको मृत्यु भएको बताउनुभयो । अफगानि अधिकारीहरुले यसअघि कम्तीमा ३६ जनाको मृत्यु भएको बताएका थिए । शिनवारीले सर्वसाधारण तथा सरकारी सेनातर्फका कसैको पनि मृत्यु नभएको दावी गरे । एएफपी

अफगानिस्तान मदर बम

विशेष