News

निर्वाचनका लागि चीनले दियाे ११ प्रकारका सामग्री

निर्वाचनका लागि चीनले दियाे ११ प्रकारका सामग्री
वैशाख - ४ । चीन सरकारले २०७४ वैशाख ३१ गते हुने निर्वाचनका लागि आवश्यक पर्ने ११ प्रकारका निर्वाचन सामग्री निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको समुपस्थितिमा निर्वाचन आयोगमा सोमबार आयोजित समारोहमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली र नेपालका लागि चीनका राजदूत यू होङबाट निर्वाचन सामग्री उपलब्ध गराइएको विषयको एक सहमतिपत्रमा हस्ताक्षर भयो । नेपाल सरकारको अनुरोधमा चीन सरकारले स्थानीय तह निर्वाचनका लागि करिब १४ करोड ४० रुपैयाँ बराबरको निर्वाचनको सामग्री उपलब्ध गराएको हो । चीनबाट जेलपेन, स्ट्याम्प प्याड, स्ट्याम्प प्याड मसी, क्यालकुलेटर, स्केल, पञ्चिङ मेसिन, टेबल घडी, कैंची, ग्लुस्टिक र रबरम्याट प्याड सहयोग प्राप्त भएका हुन् । उक्त समारोहमा प्रमुख निर्वाचन आयुक्त डा। यादवले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी आइपरेकोबेला चीन सरकारबाट सहयोगस्वरुप निर्वाचनसम्बन्धी सामग्री प्राप्त भएकामा आभार व्यक्त गरे । उनले भने–‘नेपाल र चीनबीच रहिआएको मित्रवत् र न्यानो सम्बन्ध विस्तारमा थप योगदान मिलेको छ । सहयोगप्रति आभार व्यक्त गर्दछु । निर्वाचनको जिम्मेवारी पूरा गर्न कार्ययोजनाअनुरुप आयोग निरन्तर काम गर्नेछ ।’ आयोगका सचिव मैनालीले आगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउन चीन सरकारबाट हुँदै आएको सहयोगप्रति धन्यवाद दिए । नेपालका लागि चीनका राजदूत यू होङले चीन र नेपालबीचको सम्बन्ध मित्रवत् रहेको चर्चा गर्दै चीनले नेपालको पर्यटन, व्यापार, भौतिक पूर्वाधार निर्माण, ऊर्जाजस्ता क्षेत्रमा सहयोग र लगानी गर्दै आएको बताइन् । स्थानीय तहको निर्वाचनमा सहयोग गर्न पाएकामा उनले खुसी पनि व्यक्त गरिन् । निर्वाचनका लागि सहयोग सामग्रीका अतिरिक्त निर्वाचन आयोगले चीनबाट करिब १० करोड रुपैयाँ मूल्य तिरेर ३० हजारथान मतपेटिका खरिद गरेको छ । आयोगले खरिद गरेको सबै मतपेटिका केही दिनभित्रै प्राप्त हुनेछन् ।

nirbachan aayog

विशेष