'जनतामा अझै चुनाव हुन्छ कि हुँदैन भन्ने आशङ्का'
वैशाख - ४ । चुनाव गराउँछु भनेर जिम्मेवारी लिएका सरकारले नै खुट्टा धर्मर्याएको हुँदा जनतामा अझै पनि चुनाव हुन्छ कि हुँदैन भन्ने आशङ्का पैदा भइरहेको ‘पच्चीस प्लस’को समूहले जनाएको छ ।
उक्त संस्थाद्वारा साेमबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचनलाई सर्वमान्य र सर्वस्वीकृत बनाउने प्रयत्नमा देशले अशान्ति मात्र होइन, अस्तित्वकै खतरा व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको जानकारी दिइयो ।
‘गर्वले भनौँ हामी नेपाली र्हौ' भन्ने मूल नारा दिएर मुलुकको विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका बुद्धिजीवीको साझा संस्थाका रुपमा पच्चीस प्लसले काम गर्दै आएका छन् ।
साढे दुई वर्षअघि स्थापना भएको उक्त संस्थाले लोकतन्त्रका पक्षमा जनतालाई जागृत तुल्याउने तथा शान्ति र सुशासनका पक्षमा काम गर्दै आएका छन् ।
संविधान संशोधन र निर्वाचन नितान्त फरक विषय भएकाले कुनै सर्त नराखी स्थानीय निकायको निर्वाचनमा भाग लिन राजनीतिक दललाई सुझाव दिँदै उक्त संस्थाले चुनाव गराउने जिम्मेवारी लिएका व्यक्तिबाट गैरजिम्मेवारी विचार आउनु सुहाउँदो कुरा नभएको जनाएको छ ।
सो अवसरमा समूहका पूर्वसंयोजक सूर्यनाथ उपाध्यायले संविधान संशोधन र निर्वाचनलाई जोडेर हेर्न नमिल्ने तर्क गर्दै ‘हाम्रो दृष्टिमा निर्वाचन र संविधान संशोधन एकअर्कामा जोडिनु हुँदैन, यसलाई आ–आफ्नो महत्व र स्थान प्रदान गरिनु पर्दछ भने ।
उनले भने– ‘निर्वाचनले जनतालाई बलियो बनाउँछ, निर्वाचन हुन्छ भन्नेमा जनतालाई विश्वस्त तुल्याउन आवश्यक छ, निर्वाचनमा जानुपर्यो जनताबाट अनुमोदित भएर आउनुपर्यो, संविधान संशोधन गर्ने प्रजातान्त्रिक विधि र प्रक्रिया बेग्लै छ । प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै हो ।’
हाम्रो सामु सबभन्दा ठूलो समस्या भनेको नेपालको सार्वभौमिकता र स्वतन्त्रता जोगाउनु नै हो, त्यसका लागि सबै नेपाली एकताबद्ध भई बस्नुपर्ने, सामाजिक समाञ्जस्यता कायम राख्नुपर्ने र सुशासनको प्रत्याभूति हुनुपर्ने खाँचो छ– पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
समूहका संयोजक आदित्यमान श्रेष्ठद्वारा जारी सो विज्ञप्तिमा नेपालको सार्वभौमिकता, स्वतन्त्रता र प्रादेशिक अखण्डता जोगाई राख्न र नेपालीबीचमा सदियौँदेखि रहिआएको सामाजिक सद्भाव कायम राख्न सबै नेपालीले आ–आफ्नो स्थानबाट योगदान दिन पनि सबैमा अपिल गरिएको छ ।
निर्वाचन
पच्चीस प्लस