News

साउनको तेस्रो हप्तादेखि परीक्षणकारुपमा मेलम्चीकाे पानी वितरण हुने

साउनको तेस्रो हप्तादेखि परीक्षणकारुपमा मेलम्चीकाे पानी वितरण हुने
वैशाख ७ । मेलम्ची खानेपानी योजनाअन्तर्गत् ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का उपप्रमुख प्रकाशरुद्र श्रेष्ठले परियोजनाले परीक्षणकारुपमा साउनको तेस्रो हप्तादेखि राजधानीमा पानी पठाउन सुरु गर्ने बताएका छन् । उनले साउनको दोस्रो हप्तापछि वर्षात्मा बढेको वाग्मतीको पानीलाई परीक्षणकोरुपमा प्लान्टमा ल्याइ खानेपानीकोरुपमा वितरण सुरु गरिने जानकारी दिए । त्यसरी पठाइएको वाग्मतीको पानी पूर्णरुपमा खानयोग्य हुने उनको भनाइ छ । उनले भने–‘सुरुका केही दिन पाइपमा लागेको फोहरका कारण पानी केही फोहर होला । तर, केही दिनमै त्यो पूर्ण सफा र खानयोग्य हुन्छ ।’ मेलम्चीको सुरुङ खन्ने काम सकिएसँगै सुरुङमार्फत् आउने पानी सुचारु भएपछि वाग्मतीको पानीको ठाउँमा असोज दोस्रो हप्तापछि मेलम्चीको पानी पठाउन सुरु गरिने लक्ष्य लिइएको छ । हाल ८० देखि ९० प्रतिशत ठाउँमा नयाँ पाइप बिच्छ्याउने काम सकिएको आयोजनाले जनाएको छ । श्रेष्ठले भने–‘चन्द्रशमशेरका पालादेखिका जीर्ण पाइप हटाएर अहिले सबै ठाउँमा नयाँ पाइप राख्ने काम पूरा गरिएको छ ।’ पहिलो चरणमा असोजको दोस्रो हप्ताभित्र मेलम्चीको पानीलाई वितरण गर्ने लक्ष्य लिइएको छ । जसमार्फत् पहिलो चरणअन्तर्गत् सुरुमा ८ करोड लिटर र केही समयपछि दैनिक १७ करोड लिटर पानी राजधानीवासीले उपभोग गर्न पाउनेछन् । परियोजनाअन्तर्गत् तीन चरणमा मेलम्ची आयोजना पूरा गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा मेलम्चीको पानी ल्याएर दैनिक १७ करोड लिटर राजधानीवासीलाई वितरण गर्ने तथा दोस्रो र तेस्रो चरणमा याङ्री र लार्के नदीकोसमेत पानी ल्याएर दैनिक ५१ लिटर पानी वितरण गर्ने लक्ष्य लिइएको छ । परियोजनाअन्तर्गत् साढे तीन अर्बको बजेट ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का लागि छुट्टाइएको छ । जसमा ७० प्रतिशत जापानी सहयोग नियोग (जाइका)को ७० प्रतिशत सहुलियत ऋण र बाँकी नेपाल सरकारको लगानी छ । जाइकाले ४० वर्षका लागि शून्य दशमलव एक प्रतिशत ब्याजमा सो ऋण प्रदान गरेको जाइका नेपालका प्रतिनिधि नानाको त्सुकाहाराले जानकारी दिए । हाल एनजिएस कन्सल्टेन्ट कम्पनी लिमिटेडले प्लान्टको काम गरिरहेको छ । विसं २०७० पुसदेखि प्लान्टको कामको लागि सम्झौता भएको थियो । विसं २०७२ चैतभित्र प्लान्टको कामसक्ने लक्ष्य लिइएकोमा भूकम्प, भारतीय नाकाबन्दी, विभिन्न समयमा भएको आन्दोलन, स्थानीयको असहयोगजस्ता कारणले आयोजनाको काममा ढिलाइ भएको हो । प्लान्ट सम्पन्न भएपछि काठमाडौं उपत्यका खानेपानी बोर्डलाई हस्तान्तरण गरी तीन महिनासम्म निर्माण कम्पनीले बोर्डका कर्मचारीलाई सन्चालनसम्बन्धी तालिम दिइनेछ । सुन्दरीजलमा ५०० रोपनी क्षेत्रफल प्लान्टको लागि जग्गा लिइएको छ । मेलम्ची खानेपानी वितरण गर्न १० ठाउँमा पानी जम्मा गर्ने रिजर्भ ट्यांकी निर्माण गरिँदैछ । आरुबारी, महाँकालचौर, बाँसबारी, पानीपोखरी, खुमलटार, बालाजु, कीर्तिपुर, टिङ्नी र कटुन्जेमा ट्यांकी निर्माण हुँदैछ ।
किरण भट्टराई  

Melamchi melamchi ko pani

विशेष