News

संघीय गठबन्धनद्वारा आन्दोलन स्थगित

संघीय गठबन्धनद्वारा आन्दोलन स्थगित
वैशाख - १० । सरकारको निर्णयलाई सकारात्मक जनाउँदै मधेसी मोर्चासहितको संघीय गठबन्धनले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा आइतबार बसेको गठबन्धनको बैठकले सरकार र मोर्चाबिच शनिबार भएको सहमतिअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले त्यसलाई सम्बोधन गरेपछि आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो । सरकार र मोर्चाबिच भएको तीनबुँदे भद्र सहमतिअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन दुई चरण ९वैशाख ३१ र जेठ ३१० मा गर्ने, संविधान संशोधनलाई परिमार्जनसहित पारित गर्ने र प्रदेश सीमाङ्कनलगायत विषय टुङ्ग्याउन शक्तिशाली संघीय आयोग गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार गठबन्धनले आफ्नो धारणा बाहिर ल्याएको हो । संविधान संशोधन परिमार्जनसहित पारित नभएसम्म आन्दोलन स्थगित भएको र यो पारित भएपछिमात्र आन्दोलन फिर्ता लिने निर्णय भएको गठबन्धनको प्रमुख घटक समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘शनिबारको सहमतिअनुसार सरकारले द्रुतमार्ग ‘फास्ट ट्र्याक’ बाटै संशोधन अघि बढाउने भनेको छ, हामीलाई विश्वास छ, चार दिन/सात दिन कति लाग्छ त्यतिन्जेलसम्मका लागि आन्दोलन स्थगित गरेका हौँ, फिर्ता चाहिँ हैन, संशोधन जब पारित हुन्छ तब आन्दोलन फिर्ता हुन्छ’– उनले बताए । मन्त्रिपरिषद् बैठकले शनिबारको सहमतिअनुसार संशोधनलाई परिमार्जनसहित पारित गर्ने, प्रदेशको सीमा, संख्यालगायत विशेष संरचनाको सिर्जनाका लागि संघीय आयोग गठन गर्ने निर्णयलाई सकारात्मक जनाउँदै सहमतिअनुसार कार्यान्वयन पक्षलाई हेरेर अघि बढ्ने गठबन्धनको निर्णय छ । गठबन्धनको बैठकमा कतिपय जनजाति दलका नेताले मोर्चाले एकलौटी ढङ्गले सरकारसँग सहमति गरेकामा आपत्ति जनाउँदै गठबन्धनले त्यसलाई अपनत्व गर्न नसक्ने धारणा राखेका थिए । गठबन्धनका प्रवक्ता डा ओम गुरुङले शनिबारको सहमति गठबन्धनबाट नभएको र आदिवासी खस, सिल्पी आदि समुदायको मुद्दा, भाषा लगायतका विषय नसमेटिएकाले गठबन्धनले अपनत्व लिन नसक्ने बताए । उनले भद्रसहमति भनिएअनुसार कुन कुन विषय संशोधन भए त्यसको कुनै आधिकारिक दस्तावेज नआएकाले अहिले नै सहमतिको टुङ्गो नलागेको स्पष्ट पारे।

Madheshi Morcha

विशेष