News

राजनीतिक दलको खिचातानीले लोकतन्त्र अाेझेलमा - पूर्वराष्ट्रपति यादव

राजनीतिक दलको खिचातानीले लोकतन्त्र अाेझेलमा - पूर्वराष्ट्रपति यादव
वैशाख ११ पूर्व राष्ट्रपति डा रामवरण यादवले जनआन्दोलनबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्। युवा संसद् नेपालको आयोजनामा साेमबार भएको ‘युवा सार्क क्षेत्रीय सम्मेलन’को उद्घाटन गर्दै उनले ७० वर्षको उपलब्धिबाट आएको लोकतन्त्र राजनीतिक दलको खिचातानीका कारण अझै ओझेलमा परेको भन्दै संस्थागत गर्नुमा जोड दिएका हुन्। उनले संविधानप्रति असन्तुष्टि रहेका केही पक्षलाई अहिलेको सरकारले समेट्न खोजेकामा प्रशंसा गरे। ‘प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्टि पक्षलाई समेट्ने प्रयास गर्नुभएको छ । यो राम्रो काम हो’, उनले भने –'असन्तुष्टि पक्षको माग सम्बोधन गरेपछि देशले फड्को मार्छ ।' उनले संविधान घोषणा आफ्नै पालामा भएको भन्दै संविधान जारी गर्दा छुटेका समुदायलाई समेटेर निर्वाचनमा जान राजनीतिक दललाई आग्रह गरे। उनले तीनै तहको निर्वाचन गरेर देशमा शान्ति, स्थिरता कायम गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्ने धारणा राखे। उनले भूकम्पपीडितलाई सरकारले राहत दिन नसकेको भन्दै भूकम्पको क्षेत्रमा एक तिहाइमात्र काम भएकामा दुःखेसो पोखे। 'भूकम्पपीडित अझै पालमा रहेका छन् । सरकारले उनीहरुको बस्ने ठाउँको अझै राम्रो व्यवस्था गर्न सकेको छैन', उनले भने–'अब चाँडै नै सरकारले उनीहरुको व्यवस्थापन गर्नुपर्छ ।' परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले सरकार स्थानीय तहको निर्वाचन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्वाचनपछि देश नयाँ ढङ्गबाट अघि बढ्ने बताए। उनले सार्क क्षेत्रको विकासमा युवाको उल्लेखनीय योगदान हुने चर्चा गर्दै युवालाई प्रथमिकतामा राखेर सार्कले काम गर्नुपर्ने बताए। उनले सार्क देशमा रहेका युवाको सञ्जालमार्फत सार्कमा देखिएका समस्या समाधान गर्न सकिने धारणा राखे। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्टे साम्स र नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदलगायतले सार्क क्षेत्रको विकासमा युवाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै युवालाई पनि सार्कले उचित स्थान दिनुपर्ने बताए। बुधबारसम्म चल्ने सम्मेलनमा सार्कका आठ मुलुकका २५ जना युवाले सार्क देशका दिगो विकासका समस्याका बारेमा छलफल गर्ने छन् ।

Rambaran Yadav

विशेष