News समाज

नेपालमा पसिना बगाइरहेका अष्ट्रेलियन युवाको सपना, नेपालीहरु आँसुको भरमा बाँच्नु नपरोस्

नेपालमा पसिना बगाइरहेका अष्ट्रेलियन युवाको सपना, नेपालीहरु आँसुको भरमा बाँच्नु नपरोस्

वैशाख १२ । वैशाख १२ को विपत्तिपछि पनि लाखौं नेपाली युवा बिदेसिए। विभिन्न कारणले आफ्नो देशको पुनर्निर्माणमा जुट्न सकेनन् ।

परिवारको आर्थिक सुधार र समृद्धिका निम्ति गाउँगाउँका नेपाली युवा मजदुरी गर्न समुद्रपारि पसिना बगाउन बाध्य छन् । तर, २२ वर्षीय अस्ट्रेलियन नागरिक निक अब्राहिमु भने नेपालमा पसिना बगाउँदै वैशाख १२ को भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन् ।

चम्किलो अनुहार, ठूला जुत्ता, मैलो पाइन्ट र टिसर्टमा भेटिनुभएका निकले देख्नेबित्तिकै आफ्नै लवजमा नमस्टे भने। कुरा गर्दागर्दै उनले आफ्नो नेपाल बसाइको व्याख्या गरे । काठमाडौं साँखुबाट करिब २५ किलोमिटरमाथि शंखरापुर नगरपालिका (८ साविक १२) घुमारचोकको तामाङ बस्तीमा बस्नुभएका निकलाई स्थानीयले नेपाली नाम पनि राखिदिएका रहेछन् । त्यो नाम आफैं सुनाए, मेरो नेफाली नाम हो निकलेसबहादुर तमाङ ।

गोरखा भूकम्पको तीन महिनापछि नेपाल आएका निकले अहिलेसम्म एक्लो प्रयासमा घुमारचोकको उग्रतारा माध्यमिक विद्यालयको दुईकोठे भवन, वनदेवी आधारभूत विद्यालयको ६ कोठे भवन र एउटा स्वास्थ्यचौकी बनाइसकेका छन् । कसरी नेपाल आउनुभयो र आमाको मृत्युपछि म र मेरो भाइले घर छाड्ने निर्णय गर्‍यौ, घर छाड्दाको अवस्था सम्झिँदै निक भन्छन्, त्यसपछि म सहर पसें, दिउँसो घर बनाउने र राति बारमा काम सुरु गरें। बारमा काम गर्दागर्दै निकको त्यहीँ काम गर्ने नेपालीसँग चिनजान भयो। त्यो बारमा धेरै नेपाली युवाले काम गर्थे, मैले भेटेका नेपाली एकदम अमेजिङु छन्, निक भन्छन्, नेपाली आफ्नो परिवारलाई सहयोग गर्न र पढाइलाई निरन्तरता दिन हप्तामा २० घन्टा काम गर्थे।

निक नेपाल आउनुको संयोग पनि त्यही बारले जुराइदिएको रहेछ । एक दिन बारमा काम गर्दागर्दै सबै नेपाली एकसाथ रोएको दृश्यले निकको ध्यान तान्यो । सबै नेपाली रोएपछि निकले ०७२ वैशाख १२ मा शक्तिशाली भूकम्पले नेपालमा क्षति पुगेको थाहा पाए । त्यसपछि मैले नेपालीलाई कसरी सहयोग गर्न सक्छु भनेर सोच्न थाले, निक भन्छन्, सबै कुरा सुनेपछि मलाई नेपाल आउन मन लाग्यो। निकसँगै उनका हजुरबा जिभानी डिलुगा पनि नेपाल आउन चाहन्थे । तर, क्यान्सरपीडित हजुरबालाई चिकित्सकले लामो यात्रा नगर्न सुझाव दिएका थिए। नेपालमा भूकम्प गएको भनेपछि उहाँ पनि मसँगै आउन लाग्नुभएको थियो तर डाक्टरले हजुरबुबालाई नजानू भन्यो, निकले हजुरबालाई सम्झँदै भने, हजुरबुबा नआए पनि म भूकम्प गएको तीन महिनापछि नेपाल आएँ, भूकम्पले भत्काएका विद्यालय भवन बनाउन सुरु गरेँ।

निकले जति काम गर्नुभएको छ, सबै निस्वार्थ छन्। ६ महिना बसेर विद्यालय बनाउने काम गर्दा स्थानीयले मन पराएपछि निकलाई काम गर्न झन् बल पुग्यो। गरेपछि काम किन हुँदैन र हुन्छ । म सक्षम छु । म काम गर्न सक्छुु, निक आत्मविश्वाससाथ भन्छन्, मैले अहिलेसम्म जति पनि काम गरेँ, त्यसमा मेरो कुनै स्वार्थ छैन, व्यक्तिगत परि श्रमबाहेक मैले विद्यालय निर्माणमा मात्र अहिलेसम्म २८ हजार डलर खर्चिएको छ, नेपालीलाई सहयोग गर्न पाउँदा खुसी छु।

अन्नपूर्ण

Australia

विशेष