News

तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न अपिल

तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न अपिल
वैशाख १२ । दलित गैरसरकारी संस्था महासंघले सबै राजनीतिक दलको सहमति कायम गर्दै तोकिएकै समयमा स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग अपिल गरिएको छ । महासंघले मंगलबार पत्रकार सम्मेलनगरी यही वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनलाई राजनीतिक दलले अनेक बहानामा सार्ने सम्भावना रहेको भन्दै जसरी भए पनि ३१ गते नै सम्पन्न गर्नुपर्ने माग गरेको हो । महासंघको काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष रामलखन हरिजनाले स्थानीय तहको निर्वाचनमा मुख्य पदमा दलित समुदायलाई निर्वाचित गराउन र दलित समुदायका सवाललाई सबै दलको घोषणापत्रमा समावेश गर्नुपर्नेमा जोड दिए। महासंघले स्थानीय तहमा कायम हुने कर्मचारी संयन्त्र समावेशी बनाउन, सो तहमा दलित समुदायको पहँुच बढाउन र दलित मैत्री बनाउनका लागिसमेत आह्वान गरेको छ । जातीय विभेद तथा छुवाछूतको व्यावहारिक अन्त्य गर्ने, संविधान विरोधी हुने गरी छुवाछूत गर्नेलाई कडा कारबाही गर्ने र पीडित दलितलाई न्याय दिलाउने व्यवस्था गर्न सरकार तथा अन्य सरोकारवालालाई महासंघको आग्रह रहेको छ ।

विशेष