News

रातो मत्स्येन्द्रनाथलाई आज(बिहीबार) रथारोहण गराइँदै

रातो मत्स्येन्द्रनाथलाई आज(बिहीबार) रथारोहण गराइँदै
वैशाख १४ । रातो मत्स्येन्द्रनाथलाई बिहीबार रथारोहण गराइँदैछ । बिहीबार रथारोहण भएपछि रथयात्रा भने आइतबारका लागि जुरेको छ । रथ आइतबार पुल्चोकबाट गाहिटी र सुन्धारातर्फ लगिँदैछ । यस अवधिमा तःबहालस्थित मत्स्ेयन्द्रनाथको मन्दिरमा रहेका नाथलाई रथारोहणपछि भोटो देखाउने जात्रासम्म रथमै दर्शन गर्न सकिन्छ । गुठी संस्थान पाटन शाखा कार्यालयका वरिष्ठ अधिकृत सुशीला भण्डारीका अनुसार मत्स्येन्द्रनाथलाई मङ्सिर महिनामा बुङ्मतीस्थित मन्दिर परिसरबाट पाटनस्थित तहबहालमा ल्याइएको थियो । सहकाल र वर्षाका देवताका रूपमा नाथलाई मानिन्छ । पुल्चोकबाट प्रस्थान भएको रथ सुन्धारा हुँदै लगनखेल र लगनखेलबाट जावलाखेलमा आएपछि जावलाखेल आइपुगेको चौथो दिनमा मत्स्येन्द्रनाथको साथमा रहेको भोटो प्रदर्शन गर्ने प्रचलन छ । यसपल्ट भोटो देखाउने दिन नतोकिए पनि भोटो देखाउने पालो गुठी संस्थान पाटन शाखा प्रमुख बैकुण्ठ आचार्यलाई परेको छ । अधिकृत भण्डारीकाअनुसार रथारोहण गरिएपछि रथमा साजसज्जासाथ रथ निर्माण सम्पन्न गरिन्छ । रथारोहण तथा रथयात्राका लागि ज्यापू समाज पाटनका तर्फबाट बालकृष्ण महर्जनको अगुवाइमा पुल्चोकमा स्वयम्सेवकको दस्ता परिचालन गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

विशेष