News

इयुद्वारा स्थानीय निर्वाचनको स्वागत

इयुद्वारा स्थानीय निर्वाचनको स्वागत
वैशाख १४ । युरोपेली सङ्घले नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनको स्वागत गरेको छ । सङ्घले यही वैशाख ३१ र आगामी जेठ ३१ गरी दुई चरणमा हुने स्थानीय तहको निर्वाचनको सफलताको शुभकामनासमेत दिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि सङ्घका राजदूत रिन्छे टेरेन्कले आज गरेका शिष्टाचार भेटवार्ताका क्रममा स्थानीय तह निर्वाचनको स्वागत गरेका हुन्। भेटमा उपराष्ट्रपति पुनले नेपाल नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको अधिकार संस्थागत गर्न निर्वाचनमा होमिएको बताउँदै निर्वाचनले सिंहदबारमा केन्द्रित जनताको अधिकारलाई जनताको घरआँगनमा पुर्‍याउने बताए। उनले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र सङ्घको चुनाव हुने र तीन तहको बलियो सरकार निर्माणपछि नेपाल समृद्धिको दिशामा द्रुतगतिमा अगाडि बढ्ने बताएका उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए। सो अवसरमा सङ्घका राजदूतले नेपालले अँगालेको लोकतान्त्रीकीकरण, समोवशीकरण र विकेन्द्रीकरण उदाहरणीय भएकामा प्रशंसा गरे। आजै उपराष्ट्रपति पुनले नेपालका लागि इजरायलका राजदूत यारोन मायरसँगको शिष्टाचार भेटवार्तामा नेपाल र इजरायलबीचको सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै इजरायलले कृषि क्षेत्रमा हासिल गरेको उपलब्धिबाट नेपालले सिक्न चाहेको बताए। इजरायली राजदूतले नेपाल घुम्नका लागि उत्कृष्ट गन्तव्य भएको र राजनीतिक स्थायित्व हासिल गरिरहेकाले आफ्ना नागरिकलाई नेपाल घुम्न प्रोत्साहन गरिरहेको बताएका थिए ।

EU

विशेष