विदेश

संसद भवनमै छिरेर सांसदकाे टाउको फुटाइदिए प्रदर्शनकारीले

संसद भवनमै छिरेर सांसदकाे टाउको फुटाइदिए प्रदर्शनकारीले

वैशाख १५ । मेसेडोनियामा प्रदर्शनकारीहरुको एक समूहले संसद भवनमै प्रवेश गरेर सांसदहरुमाथि हमला गरेको छ ।

त्यहाँको सभामुखमा एक अल्बेनियाली जातीय नेता निर्वाचित भएपछि विरोध प्रदर्शन भएको हो । प्रदर्शनकारीहरु संसद भवनमै प्रवेश गरी सांसदहरुमाथि हातपात गरेका थिए ।

प्रदर्शनकारीको कुटाइबाट सत्तारुढ समाजवादी प्रजातान्त्रिक पार्टीका करिब एक दर्जन सांसद घाइते भएका छन् । पूर्व प्रधानमन्त्री निकोला ग्रुएभस्कीको ‘भिएमआरओ’ पार्टीका समर्थकहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले नयाँ चुनावको माग गरेका छन् ।

प्रदर्शनकारीको आक्रमणबाट समाजवादी पार्टीका नेता जोरान जायफ गम्भीर घाइते भएका छन् । उनको टाउकोबाट रगत बगिरहेको दृष्यसहितको तस्वीर संचारमाध्यमहरुले प्रकाशित गरेका छन् ।

समाजवादी पार्टीका नेता जायफले अल्बेनियाली जातीय पार्टीसँग गठबन्धन बनाएदेखि नै विरोध प्रदर्शन भएको हो । सोही गठबन्धनका आधारमा सभामुख पद अल्बेनियाली जातीय पार्टीलाई दिइएपछि प्रदर्शन अझ उग्र भएको हो ।

अल्बेनियाली जातीय पार्टीका तालर जाफेरीलाई सभामुख बनाउने निर्णय संसदले गरेपछि प्रदर्शनकारीहरु आक्रोसित भएर संसद भवनभित्र प्रवेश गरेको बताइन्छ । करिब दुई सयको हाराहारीमा प्रदर्शनकारीहरु एकसाथ संसद भवनमा प्रवेश गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन गैरघातक ग्रिनेडसमेत प्रहार गरेको थियो ।

सो घटनामा प्रदर्शनकारी, प्रहरीसमेत गरी ४८ जना घाइते भएका छन् ।

विशेष