News

विद्यार्थीको विरोध प्रदर्शनकाक्रममा झडप, शिक्षा कार्यालयमा तालाबन्दी

विद्यार्थीको विरोध प्रदर्शनकाक्रममा झडप, शिक्षा कार्यालयमा तालाबन्दी
वैशाख - १५ । निजी विद्यालयले सरकारले निर्दिष्ट गरेका मापदन्डभन्दा बढी शुल्क लिएकोविरुद्ध कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी संगठनले जिल्ला शिक्षा कार्यालयअगाडि गरेको विरोध प्रदर्शनकाक्रममा शुक्रबार झडप भएको छ । विद्यार्थी भर्ना गर्दा निजी विद्यालयले मापदन्डभन्दा बढी लिइएको शुल्क सम्बन्धित अभिभावकलाई बोलाएर अविलम्ब फिर्ता गर्नुपर्ने भन्दै ताहचलमा गरिएको प्रदर्शनमा झडप हुँदा केही विद्यार्थी नेता सामान्य घाइते भएका छन् । ललितपुर र भक्तपुरका शिक्षा कार्यालयमा तालाबन्दीसमेत गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । उनले निजी शैक्षिक संस्थाले सरकारको मार्गनिर्देशनको उल्लंघन गरी जथाभावी शुल्क निर्धारण गर्नु कानुनविपरीत रहेको भन्दै यसविरुद्ध सशक्त आन्दोलनका कार्यक्रम गरिने जानकारी दिए । सरकारले वार्ताका लागि बोलाएको भएपनि शुल्क फिर्ताको क्रम सुरु नहुँदासम्म वार्तामा नबस्ने विद्यार्थी संगठनले जनाएको छ । ती संगठनको अघिल्लो दिन बसेको बैठकले माग पूरा गर्न दबाब दिने उद्देश्यले देशभर विरोध प्रदर्शन तथा शुल्क लिने विद्यालय सन्चालकलगायतलाई बहिस्कार गर्नेजस्ता निर्णय पनि गरेको थियो । निजी विद्यालय सन्चालकले शुल्क फिर्ता नगर्दासम्म उनीहरूलाई सामाजिक बहिस्कार गर्ने संगठनले जनाएको छ । संयुक्त विद्यार्थी संगठनमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, राप्रविसंलगायत आठ संगठन आवद्ध छन् ।

तालाबन्दी

विशेष