News

यसरी पठाउँदै छ अायाेगले दुर्गम क्षेत्रमा निर्वाचन सामग्री

यसरी पठाउँदै छ अायाेगले दुर्गम क्षेत्रमा निर्वाचन सामग्री
वैशाख - १५ । स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पठाउन थालिएको छ । सात गाउँपालिका र आठ नगरपालिका रहेको जिल्लाका अधिकांश गाउँपालिका र नगरपालिकाको निर्वाचन कार्यालयमा निर्वाचन सामग्री पठाइएको तथा केही गाउँपालिका र नगरपालिकामा शुक्रबार पठाउन लागिएको जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले जनाएको छ ।नमोबुद्ध नगरपालिका, बनेपा नगरपालिका र बेथानचोक गाउँपालिकामा आज निर्वाचन सामग्री पठाउन लागिएको जिल्ला निर्वाचन अधिकारी, मधुकरप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार निर्वाचनको मनोनयनका लागि आवश्यक पर्ने मनोनयनपत्र, मतदाता नामावली, अनुसूची फारामलगायतका निर्वाचन सामग्री कोसीपारिको दुर्गम क्षेत्र चौरी देउराली गाउँपालिका, महाभारत शृङ्खला डाँडापारिको महाभारत गाउँपालिकमा समेत पुगिसकेको छ ।त्यस्तै मतदाता शिक्षाका लागि पनि आवश्यक पर्ने विभिन्न सामग्री पनि गाउँगाउँ पुगेका छन् । जिल्लामा ३३० निर्वाचन शिक्षकमार्फत पाँच किसिमका विभिन्न पर्चा, नमुना मतपत्र, हाते पुस्तिका, प्रश्नोत्तर भएको पुस्तिकासमेत विभिन्न गाउँपालिका र नगरपालिकामा पुगेको निर्वाचन अधिकारी पोखरेलले बताए । उनले तामाङ र नेवार समुदायलाई लक्षित गरेर नेवारी र तामाङ भाषाका पम्प्लेटसमेत काभ्रेपलाञ्चोकमा वितरण हुने जानकारी दिए। जिल्लाको बेथानचोक र तेमाल गाउँपालिकामा नेवारी र तामाङ भाषाका पम्प्लेट वितरण हुने छन् । ती पम्प्लेट करिब १५० प्रति भएको बताइएको छ । निर्वाचन अधिकारी पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट स्थानीय तह निर्वाचनका लागि कर्मचारीको नियुक्ति पनि बुधबारबाट मात्रै सुरु भएको बताए । निर्वाचन आयोगले स्थानीय तहका लागि वैशाख ३१ गते पहिलो चरणको निर्वाचन गर्दै छ ।

nirbachan aayog

विशेष