News

स्थानीय चुनावको समयमा राष्ट्रपति विदेश भ्रमणमा जाँदै

स्थानीय चुनावको समयमा राष्ट्रपति विदेश भ्रमणमा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्ड गरी पाँचदिने औपचारिक भ्रमणका लागि शुक्रबार बिहान थाइल्यान्डको बैङ्कक जाने भएकी छन् ।

श्रीलङ्काकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उनी श्रीलङ्का जान लागेकी हुन् । राष्ट्रपति भण्डारी शुक्रबार बिहान १०ः १५ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछीन् । यही वैशाख २९ गते श्रीलङ्काको राजधानी कोलोम्बोमा सुरु हुने सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलङ्काकाको दोस्रो ठूलो शहर क्यान्डीमा हुनेछ । 

सन् २००० देखि राष्ट्र सङ्घले बुद्धजयन्तीलाई राष्ट्रसङ्घीय दिवसका रुपमा मनाउन सुरु गरेको हो । सो दिनलाई थाइल्यान्ड, श्रीलङ्का, म्यानमालगायतले वैशाख दिवसका रुपमा मनाउँदै आएका छन्। श्रीलङ्काले तीन दिनसम्म यस सम्बन्धी विशेष सम्मेलन गरिन्छ । 

श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेनासँग भेटवार्ता गर्नाका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नाका साथै श्रीलङ्कास्थित विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

थाइल्यान्डमा रहँदा राष्ट्रपति भण्डारीले त्यहाँस्थित ग्रान्ड प्यालेसमा राखिएकोे स्व थाइ राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यापर्ण गरी श्रद्धाञ्जलि व्यक्त गर्नेछीन् । 

गत वर्ष असोज २७ गते निधन भएका थाई राजा भूमिबलको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ । उनको अन्त्येष्टि बौद्धधर्म परम्परानुसार आगामी कात्तिक ९ गते त्यही प्यालेसको एउटा गार्डेनमा गरिने जनाइएको छ । राजा भूमिबलको निधनपछि विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा नेता बैंकक पुगेर उहाँको पार्थिव शरीरमा माल्यापर्ण गर्दै आएका छन् । 

राष्ट्रपतिको भ्रमणमा सवारीमन्त्रीका रुपमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया महाशाखा) भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारी र शिष्टाचार अधिकृत कुलबहादुर मगर, सञ्चारकर्मीलगायत उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का थाइल्यान्ड औपचारिक भ्रमण

विशेष