News

मतदाताको माग, ‘पानी, बाटो र औषधि देऊ’

मतदाताको माग, ‘पानी, बाटो र औषधि देऊ’

भक्तपुर : भक्तपुरको दक्षिण भेगमा रहेका सूर्यविनायक नगरपालिकाका मतदाताले गाउँ आएका उम्मेदवारसँग पानी, बाटो र औषधिको माग गरेका छन् । यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि गाउँ आएका उम्मेदवारसँग उनीहरुले सो माथ गरेका हुन् ।

गाउँ मै आफ्ना अधिकार आउने भएपछि मतदान गर्ने पर्खाइमा रहेका यहाँका मतदाता भने गाउँ आएका उम्मेदवारलाई आफ्नो समस्या सुनाउँदै पूरा गराउने वाचा गराएका छन् । सूर्यविनायक नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसबाट विष्णुराज कार्की, नेकपा (एमाले)बाट वासुदेव थापा, नेकपा (माओवादी केन्द्र)बाट जीवन तज, राप्रपाबाट प्रवीण शर्मा ढुङ्गेल, नेमकिपाबाट मनशोभा सुवाल, सङ्घीय समाजवादी फोरमबाट नारायणकृष्ण थापा, नेकपा (माले)बाट ज्ञानीराम च्वामु श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट रमेश बन्जाडे, राष्ट्रिय जनमुक्ति पार्टीबाट दिलबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार सानुकाजी छुँ श्रेष्ठ गरी १० जनाले उम्मेदवारी दिएका छन् । 

यसैगरी उपप्रमुख पदमा काँग्रेसबाट कल्पना राजथला, एमालेबाट जुना बस्नेत, माओवादी केन्द्रबाट पूण्यवती चौलागाईं, राप्रपाबाट जयन्ती बूढाथोकी, नेमकिपाबाट महेन्द्र बखुन्छे, सङ्घीय समाजवादी फोरमबाट दिना लामा, नेकपा मालेबाट वीणा श्रेष्ठ गरी सात जनाले उम्मेदवारी दिएका छन् । 

मत माग्नका लागि घरघरमा आएका उम्मेदवारलाई स्थानीयबासिन्दाले आफ्ना समस्या सुनाउँदै समस्या समाधान गर्न नसक्नेलाई मत नदिने बताएका थिए । सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारका बासिन्दाले काँग्रेस र एमालेका नगरप्रमुखका उम्मेदवारलाई यस क्षेत्रमा खानेपानीको निकै नै समस्या परेकाले पानी दिलाई दिन माग गरेका थिए । 

जवाफमा काँग्रेस र एमालेका उम्मेदवार क्रमशः कार्की र थापाले सिरुटारमा छ महिनाभित्र पानी ल्याइदिने वचन दिएको स्थानीय भूपाल गिरीले बताए । 

मत माग्न घरदैलो कार्यक्रममा गएका नेतासँग सिपाडोल र नंखेलका बासिन्दाले भने पक्की सडक, औषधि र सर्वसुलभ शिक्षाको माग गरेका छन् । सिपाडोल पाटी भञ्ज्याङकी सर्मिला लामाले पक्की सडक नहुँदा भक्तपुरको बजार जान पनि तीन घण्टा हिँडेर ओहोरदोहोर गर्नुपर्ने समस्या भएकाले पक्की बाटो बनाइदिन माग गरेको बताए । 

उनले भने, 'काँग्रेस, एमाले, राप्रपा, नेमकिपा, माओवादीका नेताहरु मत माग्न आए हामीले बाटो, औषधि र शिक्षा माग्यौँ ।' यहाँका बासिन्दा माध्यामिक तहमा पढ्न र बिरामी भएर औषधि गर्न जानु पर्दा दुई घण्टासम्म हिँडेर काभ्रे वा भक्तपुर जानुपर्ने भएकाले यस्तो माग गरेका हुन् । 

सूर्यविनायक नगरपालिकाको बालकोट, सिरुटार, दधिकोटको केही क्षेत्र र सूर्यविनायकको केही क्षेत्रमा खानेपानीको चरम अभाव छ भने अधिकांश क्षेत्रमा पक्की सडक पुग्न सकेको छैन। नगरपालिकाको गुण्डु, सिपाडोल, दधिकोट, नंखेलका माथिल्लो क्षेत्र निकै नै दुर्गम रहेकाले कतिपय दलका नेताहरु यस क्षेत्रमा भोट माग्नसमेत नगएको मतदाताले गुनासो गरेका छन् । 

कुल ४२ दशमलव ४५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकामा १० वटा वडामा ७८ हजार ४९० जनसङ्ख्या छ । २३ स्थानमा ४९ वटा मतदान केन्द्र रहेको यस नगरपालिकामा ३७ हजार ९५७ मतदाता छन् । पुरुषभन्दा महिला मतदाता सङ्ख्या केहि बढी छन् । २५ हजार ५८८ पुरुष र २७ हजार ३४२ महिला मतदाता छन् । 

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनअनुरुप साविक सूर्यविनायक र अनन्तलिङ्गेश्वर नगरपालिकालाई गाभेर सूर्यविनायक नगरपालिका भएको यो नगरपालिका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकिय दृष्टिकोणले सम्भावना बोकेको नगर हो । ९६ दशमलव ३२ प्रतिशत साक्षर रहेको यस नगरपालिकामा नौ वटा माध्यामिक र आधारभूत तहका ३१ सामुदायिक विद्यालय छन् । कूल १२ प्रतिशत नागरिक गरिबीको रेखामुनी रहेका यस नगरपालिकाको आर्थिक वृद्धिदर ७ दशमलव ५ प्रतिशत रहेको छ । 

नगरका सबै राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा बहुवार्षिक योजना अनुरुप सात वटा सामुदायिक वन क्षेत्र ओगटेर निर्माण सुरु भइसकेको राष्ट्रिय प्राणी उद्यानलाई राजनीतिक प्रतिष्ठाको विषय बनाएका छन् । 

धार्मिक पर्यटनको अपार सम्भावना 
यस नगरक्षेत्रभित्र सूर्यविनायक गणेश मन्दिर, सुवर्णेश्वर महादेवस्थान, सुशीलाभैरव मन्दिर, चुनदेवी मन्दिर, मुक्ति विनायक, डोलेश्वर, आशापुरी, एसियाकै अग्लो (१४३ फिट) कैलाश महादेव, पाइलट बाबा आश्रम, चरखण्डी मन्दिर, बिन्दावासिनी मन्दिर, सोमलिङ्गेश्वर मन्दिर, गुप्तेश्वर, धर्मेश्वर महादेव मन्दिर, गणेश मन्दिर, बङ्गलामुखी मन्दिर, कृष्ण मन्दिर, बालकुमारी मन्दिर, शिव मन्दिर, सरस्वती मन्दिर, राम मन्दिर, रानीकोट गढी, राधाकृष्ण मन्दिर, दक्षिणबाराही मन्दिर, राजगणेश मन्दिर, कृष्ण मन्दिर, साईगणेश, विश्वरुपेश्वर महादेव, हिणचोक भैरव, हनुमानको मूर्ति, श्वेतगणेश तथा लक्ष्मीनारायण मन्दिर, नारायण मन्दिर, राधाकृष्ण मन्दिर रहेकाले धार्मिक पर्यटकीयस्थलका रुपमा यस नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकेमा यहाँको चौतर्फी विकास गर्न सकिने उम्मेदवारहरु बताउँछन् । 

करिब दुई हजार तीन सय ५० हेक्टर कृषियोग्य जमिनमा व्यावसायिक तरकारी खेती, परम्परागत रुपमा धान, गहुँ, मकैको उत्पादन हुने यस नगरक्षेत्रमा व्यावसायिक रुपमा कृषि तथा पशु फार्महरु सञ्चालन भइरहेका छन् । 

काँग्रेस र एमालेका नगरप्रमुखका उम्मेदवारले सूर्यविनायक नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने र कृषिमा आधुनिकीकरण भित्र्याएर उत्पादन बढाउने योजनाहरु ल्याउने उद्घोष गर्दै मत मागेका छन् । 

माओवादी केन्द्रका प्रमुखका उम्मेदवार दीलकृष्ण तज सिंहदबारको अधिकार गाउँसम्म पु¥याउने मूल एजेण्डा अगाडि सारिएको तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखका उम्मेदवार प्रवीण ढुङ्गेल भूकम्पछिको पुनःनिर्माण र विकास निर्माण, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । 

नेपाल मजदुर किसान पार्टीका प्रमुखका उम्मेदवार मनशोभा त्वाटीले भने आफू महिला उम्मेदवार भएकाले महिलाको मत आफूलाई आउने र जनताको समस्या समाधानको उपाय आफूसँग रहेको बताइन् । रासस/रमेश गिरी 

भक्तपुर मतदाता

विशेष