विदेश

सधै नेपालीको हितमा काम गर्ने दक्षिण कोरियाली राष्ट्रपति, यस्तो छ उनको नेपालको मोह (फोटोसहित)

सधै नेपालीको हितमा काम गर्ने दक्षिण कोरियाली राष्ट्रपति, यस्तो छ उनको नेपालको मोह (फोटोसहित)

वैशाख २८ । दक्षिण कोरियामा उदारवादी मानिने डेमोक्रेटिक पार्टीका नेता ६४ वर्षीय मुन जे–इन राष्ट्रपति भएका छन् ।

मुन विपक्षी दलका नेता हुँदा गत असारमा नेपाल भ्रमणमा आएका थिए । नेपालमा गुपचुप १५ दिन बिताएका उनले नेपालसँग मित्रवत् सम्बन्ध रहेको बताएका थिए ।

“म नेपाललाई अत्यन्तै माया गर्छु । आगामी दिनमा सम्बन्ध अझ सुदृढ बनोस्,” उनले भने ।  विशेष गरी नेपालको हिमाली क्षेत्र मन पराउने उनले विनाशकारी भूकम्पपछि पुनर्निर्माणको काम र भूकम्प प्रभावितको अवस्था बुझ्न नेपाल आएको बताएका थिए ।

पुनर्निर्माण कार्यमा र भूकम्प प्रभावितलाई कसरी सहयोग जुटाउन सकिन्छ भनेर पनि भ्रमणमा आएको उनको भनाइ थियो । उनी त्यसअघि सन् १९९७ मा सगरमाथा र सन् २००४ मा पोखरा हुँदै अन्नपूर्ण पदयात्रामा गएका थिए ।  

तेस्रो भ्रमणमा उनी भूकम्पप्रभावित क्षेत्र लाङटाङ पुगेका थिए । १५ दिने नेपाल बसाइमा लाङटाङ, गोसाइँकुण्डलगायत क्षेत्र घुमेका उनले काठमाडौं फर्किएर केही नेपाली कामदारसँग भेट गरेका थिए । आप्रवासी कामदारको हकहितमा रहँदै आएका उनले कोरियाबाट फर्केका नेपालीसँग काठमाडौंमा भेट गरेका हुन् । उनले फोब्र्सको सूचीमा अटाएका नेपाली उद्योगपति विनोद चौधरीसँग पनि भेट गरेका थिए ।

व्यक्तिगत भ्रमणमा आएका कारण राजनीतिक भेटघाट भने नगरेको उनका सहयोगी याङजुङ चुईको भनाइ थियो ।  मुनले रोजगार अनुमति प्रणाली ईपीएसलागू भएपछि आप्रवासी कामदारलाई  प्रशिक्षार्थीको व्यवस्थाभन्दा राम्रो भएको बताएका थिए । उनले नेपालीसहित आप्रवासी कामदारको हकहितको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउँदै अपुग सुविधाका लागि पहल गर्ने बताएका थिए ।

 भाषा अनुवादक तथा पथप्रदर्शक भक्तराम लामिछानेले मुनलाई एकदमै सामान्य जीवनशैली अपनाउने नेताका रूपमा आफूले पाएको सुनाए । “मैले उहाँलाई एकदमै सरल व्यक्तिका रूपमा पाएँ”, लामिछानेले भने, “उहाँले नेपाल बसाइका क्रममा कुनै यस्तोउस्तो भनेर कुनै कुरामा दुःख दिनुभएन । यतिसम्म कि आफ्नो लुगा आफैं धुनुहुन्थ्यो ।” उनले मुन व्यक्तिगत स्वार्थ छाडी जनताका बारेमा ध्यान दिने नेता भएको उल्लेख गर्दै नेपाली राजनीतिज्ञहरू पनि यस्तै भइदिए देशको विकासले फड्को मार्ने विश्वास व्यक्त गरे । “कोरियासँग अब नेपालले धेरै कुरामा लाभ लिन सक्छ”, उनले भने ।  

मंगलबार भएको राष्ट्रपतीय निर्वाचनमा मुनको पक्षमा ४१.८ र निकटतम प्रतिद्वन्द्वी कन्जर्भेटिभ उम्मेदवार होङ जुन–प्योको पक्षमा २४.०३ प्रतिशत मत परेको थियो । मध्यमार्गी उम्मेदवार आहन चेवल–सुले तेस्रो स्थानमा २१.४१ प्रतिशत मत प्राप्त गरेका थिए । राष्ट्रपति पदमा निर्वाचित भएसँगै मुनले बुधबार सउलस्थित नेसनल एसेम्बली भवनमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै पदभार सम्हालेका छन् ।

यसअघिका राष्ट्रपति पार्क गुइन हे भ्रष्टाचार प्रकरणमा महाभियोग लागेर पदमुक्त भएकी थिइन् । मुन अघिल्लो राष्ट्रपतीय निर्वाचनमा झिनो मतअन्तरले मात्र पराजित भएका थिए ।  “म सबै जनताको राष्ट्रपति हुनेछु”, राष्ट्रपति भएपछि उनले नेसनल एसेम्बलीमा आयोजित समारोहमा भने । आफूलाई समर्थन नगरेका व्यक्तिको पनि राष्ट्रपति भएकाले सबैको हितमा काम गर्ने उनले बताए । समर्थन गर्ने जनता पनि राष्ट्रको अभिन्न अंग भएको उनले स्पष्ट पारे । “मलाई समर्थन नगरेको भए पनि क्षमता र उपयुक्तताका आधारमा सबै क्षेत्रमा सरकारी अधिकारी नियुक्त गर्नेछु”, उनले भने ।

उनले राष्ट्रपति कार्यालयलाई मध्य सउलको ग्वान्वामुनमा सार्ने पनि बताए ।  उनले एकताको नयाँ विश्वको सुरुवात अनि सबैको अस्तित्वका लागि आफू समर्पित हुने पनि उल्लेख गर्दै उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर उत्पन्न समस्या समाधान गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताए । अमेरिकी प्रतिरक्षा प्रणालीको परिचालनमा देखिएको विवादको पनि समाधान गर्ने उनको भनाइ थियो । “आवश्यक भएको अवस्थामा म वासिङ्टनको पनि भ्रमण गर्नेछु”, उनले भने, “म बेइजिङ र टोकियो पनि जानेछु । सही समयमा प्योङयाङ पनि जानेछु ।”

काराेबार

कोरियाली राष्ट्रपति

विशेष