खोटाङका विभेशको क्रिष्टल प्यालेस सम्मको यात्रा

तीर्थराज खनाल

खोटाङका विभेशको क्रिष्टल प्यालेस सम्मको यात्रा

चुस्त जिउडाल, फुर्तिलो, हँसिलो अनुहार र सामान्य नेपालीको भन्दा बढी उचाइ भएका विभेश गुरुङ अहिले १७ वर्षका भए ।

पूर्वको कर्णाली भनेर चिनिने खोटाङको सदरमुकामबाट ४ घण्टा पैदल यात्रा गरेर पुगिने चिउरीडाँडा–७ छितातलमा १७ वर्षअघि लाहुरे परिवारमा जन्मेका विभेश आमा सानुहजुर र ठूलो बाबाका काखमा हुर्किए । बाबा भूपाल बेलायती लाहुरे भएकाले विभेशले सानोमा उनको मायाको अनुभव त्यतिसारो गर्न पाएनन् ।

पूर्वका आदिवासी जनजातिको रहनसहनमा हुर्किएका विभेश पढाइमा तिक्ष्ण छन् । उनका दाजु होमकाजी गुरुङका अनुसार विभेश पढाइमा मात्र नभई खेलकुदमा समेत उत्तिकै रुचि थियो ।

सानैदेखि खेलमा लगाव राखेको देखेपछि बाबा भूपाल र आमा सानुहजुरले पनि उनलाई व्यवासायिक फुटबलर बनाउन चाहे । १९ वर्षअघि ब्रिटिस लाहुरे बनेका होमकाजीले भाइ विभेशलाई फुटबलका लागि चाहिने सामग्री ल्याइदिने गरेको बताउँछन् । ‘उनको लगाव र प्रतिभा देखेर हामीले उनलाई फुटबल खेल्न हौस्यायौं’, होमकाजी भन्छन् ।

हाल बेलायतमा रहेका विभेश मिडस्टोन ग्रामर स्कुलमा जीसीएससी परीक्षाको अन्तिम तयारीमा व्यस्त छन् । ‘अत्यन्त व्यस्त छ’, होमकाजी भन्छन्, ‘उसलाई भेट्न नपाएको महिनौं भइसक्यो ।’

१७ वर्षको उमेरमै विभेश इङ्लिस क्लब क्रिस्टल प्यालेसमा अनुबन्ध भएका छन् । ‘ट्रायलमा त धेरै गए तर विभेशलाई मात्र क्लबले अनुबन्ध गर्यो’, होमकाजी उत्साहित हुँदै भन्छन्, ‘स्थानीय मिडस्टोन टाउन फुटबल क्लबमा आबद्ध भएपछि उनको प्रतिभा प्रस्फुटन हुने अवसर प्राप्त भयो ।’

विभेशले आफ्नो प्रतिभाबाट मिडस्टोन टाउन फुटबल क्लबमा सबैलाई प्रभावित पारे । मिडफिल्डरको रुपमा उनको खेलबाट प्रभावित भएपछि क्रिष्टल प्यालेसले उनलाई ५ महिनाको ट्रायलका लागि बोलायो । यसलाई उनले सुनौलो अवसरको रूपमा उपयोग गरे । ट्रायल अवधिमा उनले उत्कृष्ट खेल प्रदर्शन गरेर छात्रवृत्ति हात पारे ।

उनका आमा र बाबा अहिले लण्डनबाट ६० किलोमिटर टाढा केन्टको ‘मिडस्टोन’मा व्यवसाय गरेर बसेका छन् । विभेश यति व्यस्त छन् कि उनले परिवारसँग बस्ने अवसर पनि पाएका छैनन् ।

उनकी दिदी सुभेक्षा अहिले लण्डनमै मुटुरोग सम्बन्धी डाक्टर पढ्दैछिन् अब केहि वर्ष पछि उनले डाक्टरी उपाधि पाउंदैछन् । होमकाजी सुनाउंछन् । उनी नेपालको सबैभन्दा कम उमेरको मुटुरोग विशेषज्ञ हुने उनको धोको छ । 

समय–समयमा नेपाल आइरने उनको परिवार सामाजिक कार्यमा जुट्ने गर्छ । केही समयअघि विभेशकी आमा सानुहजुर र दाजु होमकाजीले खोटाङको दुबेकोलमा रहेको स्वर्गीय हरिकाजी गुरुङ र तुलसा मेमेरियल ट्रष्टलाई ७ लाख रुपैयाँ हस्तान्तरण गरेका थिए ।

तीर्थराज खनाल

संम्बधित खबर

विशेष