व्यापार

नेपालले वान बेल्ट वान रोडमा हस्ताक्षर गर्यो, के हो ओविओआर ?

नेपालले वान बेल्ट वान रोडमा हस्ताक्षर गर्यो, के हो ओविओआर ?


बैशाख २९ । चीनले अघि बढाएको महत्वाकांक्षी योजना ‘वान बेल्ट वान रोड’ (ओबिओआर) मा नेपालले आज हस्ताक्षर गरेको छ ।  उप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितीमा सचिव शंकरदास बैरागी र चिनियाँ राजदुत यु होङले आज बिहान ओबिओआरको सम्झौतामा हस्ताक्षर गरिएको छ ।

यसअघि परराष्ट्रमन्त्री स्तरीय हस्ताक्षर गर्ने भनिएपनि बिभिन्न कारणबस सम्झौतामा सचिव शंकरदास बैरागी र चिनियाँ राजदुत यु होङले हस्ताक्षर गरेका हुन् । सम्झौताका लागि चिनिया विज्ञ टोली विहिबार नै काठमाडौं आइपुगेको थियो । नेपालले सन् २०१४ मा ओबिओआरमा सग्भागी हुने सहमती गरेको भएपनि गत सोमबारको मन्त्रीपरिषदको बैठकले ओबिओआर सम्झौता गर्ने निर्णय गरेको थियो ।

आगामी बैशाख ३१ र जेठ १ गते चीनले ओबिओआर सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएकोले सो सम्मेलनमा भाग लिनका लागि नेपालले आजै ओबिओआरमा हस्ताक्षर गरेको हो । यसअघि चीनमा मन्त्रिस्तरीय हस्ताक्षर गर्ने कार्यक्रम रहेको थियो । उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीसहितको ११ सदस्यीय टोली चीनले आयोजना गर्ने सो सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुदैछन् ।

के हो ओबिओआर ?

चीन ले आफ्नो खस्कदै गएको अर्थतन्त्रलाई विश्व बजारसँग नयाँ तरिकाले जोड्न सुरु गरेको नयाँ अभियानका रुपमा ओबिओआरलाई लिन सकिन्छ । चीनमा यसअघि १३ प्रतिशतसम्मको आर्थिक वृद्धि भएकोमा अहिले औसतमा ७ को हाराहारीमा पुगेको छ । घट्दो आर्थिक वृद्धिदरलाई उकासेर विश्व अर्थतन्त्रमा आफ्नो दबदबा कायम राख्ने प्रमुख र सशक्त योजना हो ओबिओआर ।

आदिकालमा इसापूर्व १ सय ३० तिर हान वंशको शासनका बेलासमेत चीनको व्यापार अहिलेको भारत, अरब, ग्रिस हुँदै अन्य युरोपियन देशहरूसम्म पुग्ने स्थलमार्गलाई चीनले रेसमी मार्ग अथवा शिल्करोड भन्ने गर्दछ ।

अहिलेका राष्ट्रपति सी जिनपिंगले त्यहि परापूर्व कालको स्थलमार्ग र अहिलेको जलमार्ग दुवैलाई समेटेर विश्वभर व्यापार गर्न एउटा क्षेत्र तथा मार्ग तोक्ने गरी ल्याएको नयाँ मार्ग ओबिओआर हो । सन् २०१३ को सेप्टेम्बरमा काजकिस्तानको भ्रमणमा पहिलो पटक राष्ट्रपति सीले यस योजनालाई सुरु गर्ने उद्घघोष गरेका थिए भने त्यसै बर्ष अक्टोबरमा इन्डोनेसियाको भ्रमणमा सिल्क रोडलाई पुनर्जीवित गर्ने घोषणा गरेका थिए ।

वान बेल्ट वान रोड उत्तरी बेल्टको स्थलमार्ग चीनको सिआनबाट सुरु भएर प्राचीन रेसम मार्ग (सिल्क रुट) लाई पछ्याउँदै उत्तरपूर्वतिर लाग्छ । त्यहाँबाट कजाकिस्तानको दक्षिणी भेग हुँदै किर्गिजिस्तान पुग्छ । किर्गिजिस्तानबाट उज्वेकिस्तान, तुर्कमेनिस्तान हुँदै यो बाटो इरानको उत्तरी भागमा पुग्छ । त्यहाँबाट रसियाको मस्को पुग्छ । मस्कोबाट इस्टोनिया, लात्भिया, लिथुआनिया आदि देशलाई छुँदै पोल्यान्ड पुग्छ र त्यहाँबाट जर्मनी हुँदै इटालीको भेनिसमा आएर टुङ्गिन्छ । यसरी प्राचीन रेसमी मार्गले जसरी चीन र युरोपलाई जोडेको थियो, त्यसैगरी उत्तरी बेल्टको प्रस्तावित स्थलमार्गले फेरि एकपटक चीन र युरोपलाई जोड्छ ।

दक्षिणी बेल्टको सामुद्रिक मार्गलाई ‘२१ औं शताब्दीको रेसम मार्ग’ भन्ने नाम दिइएको छ । यसले एसिया र अफ्रिकालाई समेटेको छ । चीनको फुझोउबाट सुरु हुने यो सामुद्रिक मार्ग त्यहाँदेखि दक्षिण पश्चिमका अनेकौं तटीय देश र सहरहरूलाई समेट्दै अघि बढ्छ । यो मार्ग ‘इस्ट चाइना सी’ को दक्षिणी सीमाबाट इन्डोनेसियाको जकार्ता पुग्छ र त्यहाँबाट भारतको कोलकोता अनि श्रीलंकाको कोलम्बोलाई जोड्छ । यो बेल्टमा कोलम्बो एसिया र अफ्रिकाको मुख्य ट्रान्जिट प्वाइन्ट बन्न पुग्छ ।

कोलम्बो एकातिर एसियामा भारतको कोलकोता र इन्डोनेसियासँग र अर्कातिर अफ्रिकाको नैरोबी (केन्या) सँग जोडिन्छ । नैरोबीबाट यो सामुद्रिक मार्ग इजिप्ट हुँदै इटाली पुग्छ र इटालीको भेनिसमा पुगेपछि उत्तरी बेल्टको स्थलमार्गसँग जोडिन्छ ।

यसरी दुबै बेल्टका स्थलमार्गले छुने र सामुद्रिक मार्गले छुने सबै देशले आपसी व्यापार बढाएर प्रशस्त आर्थिक लाभ लिनसक्ने सन्दर्भलाई यो अवधारणाले समेटेको छ । यस अवधारणा अनुसार झन्डै आधा विश्वसँग चीनको प्रत्यक्ष व्यापारिक साझेदारी बढ्नेछ र यस क्षेत्रको व्यापारमा चीनको एकाधिकारजस्तै कायम हुने निश्चित देखिन्छ ।

चीनले घोषणा गरेको वान बेल्ट वान रोडको अवधारणामा अहिलेसम्म ६७ वटासँग सम्झौता भइसकेको छ भने अझै ४० देशले यसमा हस्ताक्षर गर्ने बचन दिएका छन् । हस्ताक्षर गर्ने पहिलो देश न्युजिल्यान्ड हो । यो परियोजनाअन्तर्गत झन्डै १० खर्ब डलर बराबरको पूर्वाधार निर्माण बन्ने घोषणा चीनले गरेको छ ।

OBOR One Belt One Road

विशेष