News

चुनावी सुरक्षाको लागि ४८ घन्टा सीमा बन्द हुने

चुनावी सुरक्षाको लागि ४८ घन्टा सीमा बन्द हुने

वैशाख २९ । गृह मन्त्रालयले वैशाख ३१ गतेको स्थानीय निर्वाचन हुने जिल्लाहरूसँग जोडिएका अन्तराष्ट्रिय सीमा ४८ घन्टासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । निर्वाचन शान्त र सुरक्षित वातावरणमा सम्पन्न गर्न सीमा बन्द गर्न लागिएको हो ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता बालकृष्ण पन्थीले निर्वाचन हुने जिल्लासँग जोडिएका सबै जिल्लाको सीमा बन्द गर्ने निर्णय गरिएको बताए । भारतसँग सीमा जोडिएको तराईको चितवन, मकवानपुर, चीनसँग सीमा जोडिएका दोलखा, सिन्धुपाल्चोक, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला लगायतका सबै जिल्लाको सीमा बन्द गरिएको छ ।

बिहीबारबाट ‘निर्वाचन सुरक्षा’ मतदानस्थल केन्द्रित पारिएको जानकारी पनि उनले दिए । निर्वाचन सुरक्षा प्रभावकारी बनाउन मतदानस्थल र मतदान केन्द्रहरूमा केन्द्रित गर्ने निर्णय भएको भन्दै उनले थपे, “जिल्लास्तरीय स्थानीय सुरक्षा समितिले पनि सुरक्षा तयारी बलियो पारेको छ । ”

“चुनाव शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न हुन्छ”, उनले थपे, “निर्वाचनका लागि अपनाउनुपर्ने सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । मतदान टोली मतदान केन्द्रहरूमा परिचालन भइसकेकाले सीमा बन्द गर्नुका साथै सुरक्षाव्यवस्था थप प्रभावकारी बनाइएको हो । ”

यसैबीच प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले पनि चुनाव प्रचारप्रसारको शून्य समयअघि छिटपुट घटना भए पनि त्यसपछि यस्ता घटना स्वतः हराएर जाने दाबी गरे । “निर्वाचनका लागि प्रहरीको सुरक्षा तयारी प्रभावकारी नै छ”, उनले भने, “सुरक्षाव्यवस्थामा शंका गर्नुपर्ने अवस्था छैन । ”

मतदान अधिकृतहरूसहित प्रहरी टोलीहरू मतदान केन्द्रहरूमा पुगिसकेको जनाइएको छ । निर्वाचन सुरक्षाका लागि प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक(असई)को कमान्डमा पाँचदेखि नौजनासम्मको सुरक्षा टोली मतदान केन्द्रमा परिचालन गरिएको छ ।

मतदान केन्द्रको शान्तिसुरक्षा व्यवस्थाको जिम्मा प्रहरीले लिएको छ । यसलाई निर्वाचन सुरक्षाको मुख्य तथा भित्री घेराको रूपमा लिइएको छ । मतदान सम्पन्न भएपछि मतपेटिकाको ओसारपसार तथा सुरक्षा जिम्मा सशस्त्र प्रहरी बलले लिने जनाइएको छ ।

त्यस्तै नेपाली सेनाले मतदान केन्द्रहरूको सुरक्षा निगरानी राख्ने जनाइएको छ । सेनाको टोलीले मतदान केन्द्रमा गस्ती बढाउने र सुरक्षा अवस्थाबारे जानकारी लिने जनाएको छ । निर्वाचन सुरक्षाको दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा सेनालाई जिम्मेवारी दिइएको हो ।

election security

विशेष