विदेश

भारतको उत्तर प्रदेशमा ‘झोला बिनाको विद्यालय’ बनाउने सरकारको घोषणा

भारतको उत्तर प्रदेशमा ‘झोला बिनाको विद्यालय’ बनाउने सरकारको घोषणा

नयाँदिल्लीः भारतको उत्तर प्रदेश राज्यमा सम्पूर्ण सरकारी विद्यालयमा अध्ययनरत छात्रछात्रालाई विद्यालयमा रमाइला गतिविधि सहितका अतिरिक्त क्रियाकलापमा सहभागी गराउन शनिबारलाई ‘झोला बिनाको विद्यालय’ बनाउने घोषणा यहाँको राज्य सरकारले गरेको छ ।

निर्णयले यस राज्यमा अध्ययनरत विद्यार्थीलाई शनिबार आफ्नो शैक्षिक गतिविधि सञ्चालन नगरीकनै अतिरिक्त क्रियाकलापमा सहभागी गराइनेछ । उत्तर प्रदेशका सहायक मुख्यमन्त्री दिनेश शर्माको उपस्थितिमा शुक्रबार बसेको राज्य सरकारको शिक्षा विभागको उच्चस्तरीय बैठकले विद्यार्थीलाई हप्तामा एकदिन फरक क्रियाकलापमा संलग्न गराई उनीहरुको दिमागलाई ताजा पार्न नयाँ निर्णय गरिएको विभागले जनाएको छ ।

सो निर्णयअनुसार छिट्टै विद्यार्थीहरुले हप्तामा एकदिन विद्यालयमा झोलाको बोझबिना नै उपस्थिति हुनेछन्, विभागको एक उच्च अधिकारीले बताए ।यस निर्णयले विद्यार्थी र शिक्षकबीचको पारस्परिक सम्बन्धलाई बलियो पार्नेछ साथै विद्यार्थीको व्यक्तित्व विकासमा समेत सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको विभागले बताएको छ ।

भारतको सबैभन्दा धेरै जनसङ्ख्या रहेको उत्तर प्रदेशमा भारतीय जनता पार्टी (बिजेपी)को नेतृत्व रहेको छ । बिजेपीले दुई महिना पहिले राज्य सरकारको नेतृत्व लिएको थियो भने सत्तामा आएलगत्तै यहाँको शैक्षिक प्रणालीमा सुधार ल्याउने जनाएको थियो । भारतको अर्को राज्य महाराष्ट्रले यसै हप्ताको सुरुमा विद्यालयलाई ‘जङ्क फुड’बाट स्वतन्त्र बनाउने पहलस्वरुप सम्पूर्ण विद्यालयको चमेना गृहबाट ‘जङ्क फुड’ बिक्री गर्न नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय लिएको थियो ।

झोला बिनाको विद्यालय

विशेष