News

धादिङमा हतियारसहित ६ जना पक्राउ, राजमार्गका तीन स्थानको बम डिस्पोज

धादिङमा हतियारसहित ६ जना पक्राउ, राजमार्गका तीन स्थानको बम डिस्पोज

स्थानीय तह निर्वाचनको मौनअवधिमा प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा गरेको चेकजाँचको क्रममा छ जनालाई पक्राउ गरेको छ । पेस्तोल खुकुरीसहितको हातहतियार नगदसमेत बरामद गरेको छ । 

खनियाबास गाउँपालिका–५ सत्यदेवीमा प्रहरीले गरेको चेकजाँचको क्रममा सोही स्थानका २६ वर्षीय युल तामाङ र २७ वर्षीय जयकुमार तामाङलाई शुक्रबार राति युएसए पेस्तोल एक थान, यसको गोली तीन थान र खुकुरी एक थानसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजीयार थारुले बताए । 

चेकजाँचको क्रममा फेला परेको बा ७७ प १९६२ नं को मोटरसाइकल र रु ४१ हजार ७०० नगदसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । 

यसैगरी त्रिपुरा सुन्दी गाउँपालिका–१ सल्यानटारबाट चार जना पक्राउ गरेको छ । तीन खुँडासहित त्रिपुरासुन्दरी गाउँपालिका–३ का २४ वर्षीय उत्तम अधिकारी, २४ वर्षीय प्रचित अधिकारी, २२ वर्षीय प्रकाश थापामगर र ३० वर्षीय नवीन थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसैगरी नेकपा विप्लव समूहले राजमार्गका तीन ठाउँमा राखिएको बम आज बिहान संयुक्त सुरक्षा फौजले निस्क्रिय पारेको जनाएको छ । 

सिद्धलेक गाउँपालिकाको कालुपाण्डे मार्गमा राखिएको प्रेसरकुकर बम, पृथ्वीराजमार्गको घाटबँेसीमा राखिएको सिलिन्डर बम र महादेवबेँसी नजिककै राखिएको बम सेना प्रहरी र सशस्त्र प्रहरीको टोलीले निस्क्रिय पारेको हो । रासस

स्थानीय तह निर्वाचन धादिङ राजमार्ग मौनअवधि बम डिस्पोज

विशेष