विदेश

नवनिर्वाचित फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा पद तथा गोपनियताको सपथग्रहण

नवनिर्वाचित फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा पद तथा गोपनियताको सपथग्रहण

पेरिस: फ्रान्सको इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रपतिमा हालै निर्वाचित भएका इमानुएल म्याक्रोँले आइतबार पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।

मध्यमार्गी नेता म्याक्रोँले गत आइतबार भएको निर्वाचनमा दक्षिणपन्थी नेता मरिन ले पेनलाई दोस्रो चरणको निर्वाचनमा पराजित गरी राष्ट्रपतिमा निर्वाचित भएका थिए । निर्वाचन परिणाम आएको ठिक एक हप्तापछि म्याक्रोँले फ्रान्सको राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेका हुन् ।

फ्रान्सको एलिसी प्यालेसमा पूर्व राष्ट्रपति अलान्दले नवनिर्वाचित राष्ट्रपतिलाई स्वागतपछि केही समय गोप्य वार्ता गरेका थिए । त्यसपछि म्याक्रोँलाई फ्रान्सको आणविक भण्डार सञ्चालन गर्ने आचारसंहिता सहितको पदभार औपचारिक रूपमा हस्तान्तरण गरेका थिए ।

म्याक्रोँलाई पूर्वराष्ट्रपति अलान्दले राजनीतिक यात्राको सुरुवात आफ्नै आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरी सुरु गराएका थिए । उनलाई पछि अर्थमन्त्री बनाउनसमेत अलान्दको मुख्य भूमिका रहेको थियो ।

पदभार ग्रहण गर्नुपूर्व कन्स्टिच्युसनल काउन्सिलका लरेन्ट फेबिअसले निर्वाचनको परिणाम औपचारिक रुपमा घोषणा गरेका थिए । म्याक्रोँ युरोपियन युनियन आवद्ध सदस्य राष्ट्रसँग आफ्नो मध्यमार्गी नीतिका कारण लोकप्रिय मानिन्छन् ।

सपथपछि उनले दिएको छोटो मन्तव्यमा विश्व र युरोपले फ्रान्सलाई पहिलेभन्दा बढी मजबुत र भाग्यशाली भएको देख्न चाहेको बताए । सपथग्रहणको औपचारिक कार्यक्रमपछि उनलाई २१ तोपको सलामी दिई स्वागत गरिएको थियो ।

Emmanuel Macron

विशेष