विदेश

म्यानमारको शान्ति प्रक्रियाले गति लिने सम्भवना

म्यानमारको शान्ति प्रक्रियाले गति लिने सम्भवना

याङगुनः म्यानमारको जारी शान्ति प्रक्रियाले गतिलिने सम्भावना बढेको बताइएको छ । त्यहाँ गत वर्षदेखि सुरु भएको भए पनि शान्ति प्रक्रिया अघि बढ्न सकिरहेको छैन ।

गत हप्तामात्र त्यहाँकी राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीले विद्रोही पक्षसँग गरेको पछिल्लो वार्तापछि उनीहरुसँग यही मे २४ मा अर्को वार्ता गर्ने सहमति भएको छ ।

सम्भवत सो वार्ता म्यानमारको इतिहासमा नै सफल एवम् सकारात्मक हुनसक्ने अपेक्षा सर्वत्र राखिएको राजधानी याङ्गुनबाट प्राप्त समाचारमा जनाइएको छ ।

सुकीको नेतृत्वमा रहेको सङ्घीय शान्ति वार्ता संयुक्त समितिले त्यहाँ जातीय विद्रोहीले राखेका कतिपय मागमा सहमति जनाएको समाचारमा आएको छ ।

उनीहरुले राख्दै आएको उनले ती समूहहरुको स्थानीय स्वायत्तता र राज्य सरकारको मागमा लचिलो भएको जनाइएको छ । यदि यसो हुनसक्यो भने आगामी मे २४ को वार्ता निर्णायक पनि हुनसक्ने अनुमान गर्न थालिएको समाचारमा जनाइएको छ ।

उक्त वार्तालाई शान्ति सम्मेलनको नाम दिइएको छ । सो सम्मेलनमा सरकार र विद्रोहीका तर्फबाट आ–आफ्ना माग प्रस्तुत हुनेछन् ।

स्थानीय रुपमा विभिन्न जातीय बाहुल्यता रहेको भनिएका स्थानमा म्यानमार वर्षैँदेखि हिंसात्मक विद्रोह भइरहेको छ । ती विभिन्न जातीहरुले आ आफ्नो राज्य र शासनमा स्वायत्तताको माग गर्दै आएका छन् ।

तर पनि म्यानमारको यसअघि लामो समयसम्म सञ्चालनमा रहेको सैनिक नेतृत्वको सरकारले उनीहरुको मागलाई पूरा गर्न नसकिने भन्दै आएको थियो । जसका कारण ती क्षेत्रमा हिंसा पनि भएको थियो ।

तर वर्तमान राज्य सल्लाहकार एवम् विदेशमन्त्री सुकीले ती मागहरुलाई पूरै रुपमा सम्बोधन गर्न नसकेपनि केही मात्रामा ती जातीलाई शासनमा अधिकार दिने र अलग्गै राज्यको घोषणा पनि गरिदिने विषयमा सहमति जनाएको समाचार यसअघि नै सार्वजनिक भएको छ ।

सुकीले आगामी मे २४ को सम्मेलनलाई एक महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने धारणा राखेको छ । साथै उनले यो सम्मेलनमा हुनसक्ने उपलब्धिलाई केवल म्यानमारको मात्र नभएर विश्वकै एक महत्वपूर्ण उपब्धिका रुपमा पनि लिइनुपर्ने बताए ।

साथै उनले यसबाट आगामी दिनमा म्यानमारका अन्य स्थानमा पनि सिक्न र लागू गर्न सकिने धारणा पनि राखेको प्राप्त समाचारमा जनाइएको छ ।

उता जातीय विद्रोहीहरुले पनि यसलाई एक सफलताको उदाहरणका रुपमा लिन सकिने प्रतिक्रिया दिएका छन् । तर उनीहरुले अहिले नै पूर्णरुपमा खुसी भैहाल्ने अवस्था भने नभएको पनि प्रतिक्रिया दिएका छन् । सिन्ह्वा

म्यानमार

विशेष