News

महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरमा मतदान

भीष्मराज ओझा

महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरमा मतदान

काठमाडौंः सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् ।

स्थानीय निकाय पुनःसंरचनापछि गठन भएका पोखरा लेखनाथ, ललितपुर, भरतपुरसहित काठमाडौं महानगरपालिकामा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता थियो ।

औसतमा महानगरपालिकामा कुल मतदातामध्ये ७५ प्रतिशतभन्दा बढीले आफ्नो मताधिकार प्रयोग गरेको देखिन्छ । यो पहिलो चरणमा सम्पन्न निर्वाचनमा खसेको कुल मतप्रतिशतभन्दा बढी हो ।

पोखरा महानगरपालिकामा मतदाता संख्या एक लाख ६८ हजार ६७ रहेकामा एक लाख २४ हजार छ सय १४ अर्थात् ७५.७४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो महानगरपालिकाकारुपमा रहेको सो महानगरपालिकामा कुल ३३ वडा निर्धारण भएका छन् । पोखरा महानगरपालिकाको जनसंख्या चार लाख १४ हजार १४१ रहेको छ ।

तराई–मधेसको एकमात्र चितवनस्थित भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ५० हजार दुई सय ७४ मध्ये एक लाख १२ हजार सात सय ४१ मतदाताले मतदान गरेका थिए । यो मतदाता संख्याको ७५.०२ प्रतिशत हो । कुल २९ वडा रहेको सो महानगरपालिकामा जनसंख्या दुई लाख ८० हजार पाँच सय दुई छ ।

मुलुकको पहिलो कामपामा मतदाता संख्या दुई लाख ७१ हजार दुई सय २१ रहेकामा निर्वाचनमा झन्डै ७० प्रतिशत मत अर्थात् करिब एक लाख ९० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अन्य महानगरपालिकाको तुलनामा कामपाका बासिन्दाले कम मतदान गरेको देखिएको छ । कुल ३२ वडा रहेको कामपामा कुल जनसंख्या ९ै लाख ७५ हजार ४६३ छ ।

ऐतिहासिक तथा पर्यटकीय महत्वको ललितपुर महानगरपालिकामा कुल एक लाख १२ हजार ९ सय २३ मतदातामध्ये संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँ ८९ हजार दुई सय १४ मत खसेको थियो ।

चार महानगरपालिकामध्ये सबैभन्दा बढी अर्थात् ७९ प्रतिशत हो । २९ वडा रहेको सो महानगरपालिकामा पछिल्लो जनगणनानुसार दुई लाख ८४ हजार ९ सय २२ जनसंख्या छ ।

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सम्पन्न भएका ३४ जिल्लाका २८१ स्थानीय तहमा ७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । चारै महानगरपालिकामध्ये ललितपुरमा आइतबार रातिदेखि र अन्यमा सोमबारदेखि मतगणना सुरु भएको छ ।

मतदान

विशेष