News

जनशक्तिको व्यवस्था गरी छिटो मतगणना गर - निर्वाचन अायोग

जनशक्तिको व्यवस्था गरी छिटो मतगणना गर - निर्वाचन अायोग

निर्वाचन आयोगले आवश्यक जनशक्तिको व्यवस्था गरी छिटो मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। मतगणनामा ढिलाइ भएको जनगुनासो आएपछि त्यसलाई सम्बोधन गरी शीघ्र मतगणना सम्पन्न गर्न सम्पूर्ण स्थानीय तहका निर्वाचन अधिकृतलाई आजै निर्देशन दिइएको आयोगका सचिव गोपिनाथ मैनालीले जानकारी दिए।

सोमबारको तुलनामा मङ्गलबारदेखि मतगणनाको गति बढेको जानकारी दिँदै उनले भने, ‘ढिलाइ भएका तहमा सुरुमा एकै स्थानमा गणना भएकोमा आजदेखि तीन/चार स्थानबाट गणना हुन थालेको छ।’ आयोगले महानगरपलिकाको मतगणना यही साताभित्र सम्पन्न हुने गरी काम अघि बढाउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। आयोगको निर्देशनपछि आजदेखि महानगरपालिकाहरुमा दुई/तीन वडाका मतपत्र एकैसाथ गणना हुन थालेको छ।

मतगणनामा भएको ढिलाइका कारण २८१ स्थनीय तहमा आइतबार भएको निर्वाचनमध्ये हालसम्म १० स्थानीय तहको निर्वाचन मत परिणाम मात्र प्राप्त भएको छ। प्राप्त परिणामअनुसार तनहुँको बन्दीपुर गाउँपालिका, मनाङका चामे गाउँपालिका, नाशोङ गाउँपालिका र नेस्याङ गाउँपालिका, बागलुङ जिल्लाको तमानखोला गाउँपालिका, मुस्ताङका घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, बाह्रगाउँ गाउँपालिका र लोमाथाङ गाउँपालिकाको निर्वाचन अन्तिम परिणाम प्राप्त भएको हो। मुलुकका तीन प्रदेशका ३४ जिल्लामा भएको मतदानको अहिले २५७ स्थानीय तहमा निर्वाचनको मतगणना भइरहेको आयोगले जनाएको छ। 

निर्वाचन आयोग

विशेष