News

मेचीदेखि मावासम्मकाे ५५ किमि सडक अतिक्रमण

मेचीदेखि मावासम्मकाे ५५ किमि सडक अतिक्रमण

झापा : पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको दमकस्थित मावा खोलादेखि मेचीनगरको मेची खोलासम्मको ५५ किलोमिटर सडक अतिक्रमण हँुदासमेत सडक डिभिजन कार्यालय बेखबर छ ।

तीन वर्षअघि सडक डिभिजन कार्यालय दमकले सडक अतिक्रमण हटाउन सुरु गरे पनि त्यसयता सडक अतिक्रमण रोक्ने कार्य हुन सकेको छैन ।

झापाका प्रमुख व्यापारिक केन्द्र बिर्तामोड, दमक, काँकडभिट्टा, सुरुङ्गा, केर्खालगायतका ठाउँमा सडक अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने, अस्थायी तथा स्थायी संरचना बनाउने, बालुवा गिट्टी थुपार्ने गरिएको छ जसका कारण दिनानुदिन सडकमा हिँड्ने सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । त्यसमाथि सवारी दुर्घटनाको जोखिम बढेर गएको छ । धेरैजसो अस्थायी रुपमा व्यापार व्यवसाय गर्नेले सडक मिचेको पाइएको छ । पछिल्लो समयमा स्थायी प्रकृतिका संरचना बन्न थाले पनि सडक डिभिजन कार्यालयले चासो दिएको छैन ।

सडक अतिक्रमण गरेर ढोका बनाउने तथा तुल टाँग्ने काम हुँदासमेत कार्यालय बेखबर बनेको सरोकारवालाले बताएका छन् । यसो गर्न सडक कार्यालयले अनुमति दिनुपर्ने व्यवस्था रहेको छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख राजेश यादवले सडक अतिक्रमणको विषयमा आफूहरुको ध्यान गएको भए पनि अहिले अन्य कामको व्यस्तताले त्यो विषयमा समय दिन नसकिएको बताए । भदौ या असोजमा प्रशासनसँग समन्वय गरेर अतिक्रमण हटाउन अभियान चलाइने उनको भनाइ छ । उनका अनुसार सडक अतिक्रमण गरेर बनाएका सबै संरचना भत्काइने छ ।

सार्वजनिक सडक ऐन, २०३१ मा सडक अतिक्रमण गर्नेलाई कारबाही गर्ने व्यवस्था रहेको छ । सडक अतिक्रमणका कारण दिनहँु दुर्घटना हुने गरेको भए पनि सडक डिभिजन कार्यालयले भने यसलाई सामान्य रुपमा लिँदै बेवास्ता गरेको पाइएको छ ।

पूर्वकै प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको बिर्तामोड अहिले सबैभन्दा बढी सडक अतिक्रमणको चपेटामा परेको छ । बिर्तामोडमा स्थानीय व्यापारीदेखि घर निर्माणकर्ता र फुटपाथमा व्यवसाय सञ्चालन गर्नेले सबैभन्दा बढी सडक अतिक्रमण गरेका छन् । ठूलाठूला व्यापारिक महल बनाउनेले सवारी पार्किङ एरिया नबनाई सडकलाई नै पार्किङ स्थल बनाएका छन् । यति हुँदासमेत स्थानीय प्रशासन बेखबर छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले सडक डिभिजन कार्यालय र नगरपालिकाले सहयोग नगरेका कारण सडक अतिक्रमण हटाउन नसकिएको बताए ।

यता बिर्तामोड नगरपालिकाले पनि सडक अतिक्रमण र फुटपाथ हटाउने विषयमा कुनै चासो दिएको छैन । व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका भवन वा कार्यालयमा आउने सेवाग्राहीले सडकमा पार्किङ गर्ने गरेका छन् । कतिपय सपिङ मलले अन्डर ग्राउन्ड पार्किङ भन्दै सपिङ मल बनाए पनि सडकलाई नै पार्किङ स्थल बनाएका छन् ।

झापा सडक अतिक्रमण

विशेष