News

आचारसंहिता उल्लङ्घनबारे संसदीय छानबिन समिति गठनको माग

आचारसंहिता उल्लङ्घनबारे संसदीय छानबिन समिति गठनको माग

काठमाडाैँः सत्तारुढ गठबन्धनका तर्फबाट परिणामलाई आफ्नो पक्षमा पार्न प्रहरी, प्रशासन र राज्यका कतिपय निकायलाई सरकारले दुरुपयोग गरेको भन्दै नेकपा एमालेले खेद व्यक्त गरेको छ ।

दोलखा, सिन्धुपाल्चोक, धादिङ, काभे्र, रसुवा, हुम्ला, रुकुम, नुवाकोट, मकवानपुर, रामेछाप लगायतमा त्यस्ता घटना भएको भन्दै एमालेले ती घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न संसदीय छानबिन समिति गठन गर्नसमेत माग गरेको छ ।

“निर्वाचनका क्रममा भएका आपराधिक क्रियाकलाप र राज्यसत्ताको दुरुपयोगसमेत गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने क्रियाकलापलाई गम्भीरताका साथ लिँदै आवश्यक कारबाही गर्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दछ” बैठकपछि पार्टीका सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एमालेले पहिलो चरणको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता र आफ्नो हालसम्मको सफलताप्रति खुसी व्यक्त गर्दै आफ्ना प्रतिनिधिको चयनका लागि मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गरेको छ ।

स्थानीय तहको निर्वाचनले जनताका प्रतिनिधिद्वारा निर्मित नेपालको संविधानलाई जनअनुमोदित गर्नाका साथै संविधान कार्यान्वयनका निम्ति थप आधारसमेत प्रदान गरेको एमालेको ठहर छ ।

विशेष