विदेश

रुसी हस्तक्षेपबारे छानविन गर्न मलरलाई जिम्मा

रुसी हस्तक्षेपबारे छानविन गर्न मलरलाई जिम्मा

वासिङटन: अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि गत बर्ष भएको निर्वाचनमा रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न संघीय परिक्षण विभागका पूर्व प्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रुपमा नियुक्त गरिएको छ ।

अमेरिकाको न्याय मन्त्रालयले त्यतिबेला भएको भनिएका हस्तक्षेपबारे छानविन गर्न वर्तमान प्रशासनभन्दा बाहिरका व्यक्तिलाई जिम्मा दिनु उपयुक्त हुने ठानेर उहाँलाई जिम्मेबारी दिएको अधिकारीहरुले बताएका छन् ।

मलर न्याय मन्त्रालय अन्तर्गत नै काम गर्ने गरी नियुक्त हुन् । न्याय मन्त्रालय भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्ने निकाय हो । मलरलाई स्वतन्त्र भनिएपनि प्राविधिकरुपमा भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्नुहुन्छ ।

मलरलाई जिम्मेवारी दिएको विषयमा रिपब्लिकन र डेमोक्रयाट दुवै पक्षका नेताहरुले समर्थन जनाएको उप न्यायाधिवक्ता रड रोजेन्सटाइनले जानकारी दिए ।राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई अघिल्लो हप्ता बर्खास्त गरेसँगै नयाँ विशेष अभियोजनकर्ताको खोजी भएको थियो । एएफपी

संयुक्त राज्य अमेरिका

विशेष