News

संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

काठमाडौं: व्यवस्थापिका–संसदको चालु दोस्रो अधिवेशन बिहीबार (आज) राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयबाट चालु अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रलाई बिहीबारको बैठकमा सभामुखले प्रस्तुत् गर्दै अधिवेशनको अन्त्य गराइएको हो । मन्त्रिपरिषदको बिहीबारकै बैठकले सोबारे निर्णय गरेको थियो ।

सभामुख ओनसरी घर्तीले सो अधिवेशनमा भएरगरेका कामको फेहरिस्त बैठकमा प्रस्तुत् गरिन् । विसं २०७३ वैशाख २१ गतेदेखि कुल ३८१ दिनका अवधिमा ११४ दिनमा १३५ पटक बैठक बसेको थियो । यसबीचमा १७ विधेयक पारित भएका छन् ।

अधिवेशनमा दोस्रो संशोधन विधेयक एकपटक फिर्ता भइ पुनः पेस भएको छ । सो अवधिमा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्वाचित भए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध अविश्वास प्रस्ताव पेस भयो ।

त्यस्तै, सत्तापक्ष र प्रतिपक्षको विवादका कारण पटक–पटक सदनको कारबाही अवरोध भयो । संसद बैठकको सो अवधिमा प्रधानमन्त्रीले पाँचपटक सार्वजनिक महत्वका विषयमा मन्तव्य दिए । सभामुख घर्तीले अघिल्ला अधिवेशनका तुलनामा यो अधिवेशन केही लामो समय चले पनि संविधानको कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण साबित भएको बताइन् ।

उनले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएकामा सरकार र जनतामा धन्यवाद दिँदै संविधानले तोकेकै समयमा प्रदेश र संघको निर्वाचन पनि सम्पन्न गर्न सम्बन्धित सबैमा आग्रह गरिन् । सभामुख घर्तीले संसदको चालु अधिवेशनमा विभिन्न सांसद कारणवश विभिन्न मितिमा अनुपस्थित भएको सूचना प्रस्तुत् गरेकामा बैठकले स्वीकृति दिएको छ । 

व्यवस्थापिका–संसद

विशेष