लगानी बोर्डका उपाध्यक्षमा मन्त्री जोशी नियुक्त
काठमाडौं: सरकारले उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई लगानी बोर्डको उपाध्यक्षमा नियुक्त गरेको छ । बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री जोशीलाई बिहीबार सो पदमा नियुक्त गरेका हुन् । उपाध्यक्षमा नियुक्त भएलगत्तै मन्त्री जोशीले लगानी बोर्डलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी ठूला पूर्वाधार तथा परियोजना प्रभावकारी ढंगले अगाडि बढाउन सशक्त निकायकारुपमा बोर्डलाई स्थापित गर्नुपर्ने मन्त्री जोशीले बताए । बोर्डको कार्यालय नयाँबानेश्वरमा आयोजित स्वागत कार्यक्रममा उनले बोर्डको काम प्रभावकारी बनाउन लगानी बोर्ड ऐन संशोधन गर्नुपर्नेमा जोड दिए ।
आफ्नो विज्ञता र विशिष्टतालाई पहिचान गर्दै रोजगारी, राजस्व तथा समग्र अर्थ व्यवस्थामा योगदान पुग्ने गरी लगानी सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो ।मन्त्री जोशीलाई बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले स्वागत गर्दै बोर्डका समस्या समाधानमा दिलोज्यान दिएर लाग्न मन्त्री जोशीलाई आग्रह गरेका थिए ।
नवीन्द्रराज जोशी