News

मुख्य निर्वाचन कार्यालय शनिबारदेखि पूर्ण सञ्चालनमा आउने

मुख्य निर्वाचन कार्यालय शनिबारदेखि पूर्ण सञ्चालनमा आउने

काठमाडाैँः दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि शनिबारदेखि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय पूर्ण रुपमा सञ्चालन आउने भएको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले शनिबारदेखि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालय पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिए।

उनले भने, 'जेठ १५ बाट निर्वाचन अधिकृतको कार्यालय पनि सञ्चालनमा आउनेछन् ।' विसं २०७४ जेठ ३१ गते बुधबार हुने दोस्रो चरणको निर्वाचनमा चार प्रदेशका ४६१ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

प्रदेश नं १, २, ५ र ७ प्रदेशमा हुने दोस्रो चरणको निर्वाचन १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउँपालिकामा हुनेछ। सो निर्वाचनमा ९० लाख ९७ हजार ५५७ जना मतदाता रहेको आयोगले जनाएको छ।

निर्वाचन अधिकृतले यही जेठ १५ गते कार्यालय सञ्चालन गरेपछि कर्मचारीको तालिम सञ्चालन गर्नेछन्। निर्वाचन कार्यक्रमनुसार जेठ १९ गते उम्मेदवारको मनोनयन र जेठ २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ। दोस्रो चरणको निर्वाचनमा ११ हजार ९३१ मतदान केन्द्र रहने छन्। 

विशेष