News

काठमाडौँ महानगरका थप तीन स्थानबाट मतगणना सुरु

काठमाडौँ महानगरका थप तीन स्थानबाट मतगणना सुरु

काठमाडौँ महानगरपालिकामा १३ स्थानमा आजदेखि मतगणना सुरु गरिएको छ । थप तीन वटा वडाको मतगणना आज सुरु गरिएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी दिएका छन्। उनका अनुसार वडा नं ५, ६ र ७ को मतगणना गर्न थालिएको हो ।

यसअघि महानगरका वडा नं २ देखि ४ र वडा नं २५ देखि ३२ वडाका ११ स्थानमा मतगणना सुरु गरिएको थियो । अहिलेसम्म वडा नं १ र २ को मतमणना मात्र सकिएको छ। यसैगरी कामपाको मतगणनामा अहिलेसम्म नेकपा (एमाले)को अग्रता कायमै छ ।

महानगरपालिका प्रमुखमा नेकपा(एमाले)का विद्यासुन्दर शाक्य ११ हजार पाँच सय ५९ मतसहित अग्रस्थानमा छन्। नेपाली काँग्रेसका राजुराज जोशीले सात हजार पाँच सय ५४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले चार हजार पाँच सय २५ मत, साझा पार्टीका किशोर थापाले तीन हजार पाँच सय ४६ र नेकपा (माओवादी केन्द्र)का सर्वोत्तमदास डङ्गोलले एक हजार तीन सय १० मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले १० हजार दुई ८६, राप्रपाका राजाराम श्रेष्ठले छ हजार दुई सय ४६ र साझा पार्टीकी निरुपमा यादवले दुई हजार एक सय ९५ प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका मतगणना

विशेष