News

तराई/मधेशको मुद्दा फिर्ताको प्रक्रिया अघि बढिसक्यो, अब रोकिँदैन - गृहराज्यमन्त्री बानियाँ

तराई/मधेशको मुद्दा फिर्ताको प्रक्रिया अघि बढिसक्यो, अब रोकिँदैन - गृहराज्यमन्त्री बानियाँ

गृहराज्यमन्त्री ईन्द्र बानियाँले सरकारले टीकापुर लगायत तराई/मधेशका आन्दोलनलाई राजनीतिक घटनाको रुपमा लिएकोले मोर्चाका मागअनुसार नै सबै मुद्दा फिर्ता लिने स्पष्ट पारेका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राज्यमन्त्री बानियाँले सरकारले चाहेको खण्डमा मुद्दा फिर्ता लिन सक्ने भएकोले तराई/मधेश र थरुहट आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता लिने बताएका हुन्।

मन्त्री बानियाँले भने,‘सरकारले मुद्दा फिर्ता लिन्छ, यो सरकारको अधिकारको कुरा हो, हिजो माओवादी सशस्त्र युद्धको बेलामा त राज्यले धेरै मुद्दा फिर्ता लिएको इतिहास छ, त्यसैले सरकारले मुलुकमा शान्ति, अमनचयन स्थापित गर्नको लागि आवश्यकताको सिद्धान्त अनुसार मुद्दा फिर्ता लिन सक्छ, जसले विरोध गरेपनि अब मुद्दा फिर्ताको प्रक्रिया अघि बढिसक्यो, अब रोकिँदैन मोर्चाका माँग अनुसार सबै मुद्दा फिर्ता हुन्छ।’

बानियाँले मधेशी मोर्चालाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउनको लागि सरकार स्थानीय तहको संख्या थप्न पनि तयार रहेको स्पष्ट पारे। उनले भने,‘तराई–मधेश पनि नेपाल नै हो नि, संख्या थप्न के को आपत्तिरु हामी संख्या थप्न तयार छौं।’

उनले हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा धाँधली भयो भनेर प्रमुख प्रतिपक्षी दलले लगाएको आरोप मिथ्या र चर्चा कमाउनको लागि मात्रै भएको टिप्पणी गरे। उनले भने,‘एमालेले अहिलेमात्रै होइन, ०४८ सालदेखि नै धाँधलीको ढोङ पिटिरहेको छ, तर यो पटकको पहिलो चरणको निर्वाचनमा छिटपिट घट्नाबाहेक त्यस्तो केही भएको छैन, कस्तो निर्वाचन भयो भन्ने कुरा सारा जगतलाई थाहा छ।’

उनले कांग्रेस र माओवादी केन्द्रको तालमेललाई लिएर एमालेले गरेको टिप्पणीपनि अशोभनीय भएको बताउँदै एमालेले राप्रपासँग गरेको तालमेल बरु शंकाको घेरामा रहेको आरोप लगाए। उनले भने,‘सक्रिय राजा चाहियो भन्ने राप्रपासँग एमालेले एकता गरेको छ, यो के हो रु सबैलाई यो कुरा राम्रोसँग थाहा छ।’ त्यस्तै उनले अब हुने दोस्रो चरणको निर्वाचन एमालेले नचाहेको समेत आरोप लगाए।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले कांग्रेस र माओवादी केन्द्रवीच चुनावी तालमेल त सामान्य कुरा भएको बताउँदै भोलि पार्टी एकता भयो भनेपनि आश्चर्य मान्न नहुने बताए।

उनले भने,‘किनकी माओवादी जे बोल्छ, त्यही पुरा गर्छ, प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो भाषण गर्दा भन्नुभयो, कि आजभोलि कांग्रेसले जित्दा माओवादीले जितेजस्तो लाग्छ र हो पनि, अहिले त कांग्रेस र माओवादी छुट्याउनै गाह्रो छ, भोलि यी दुई पार्टी एक भएपनि आश्चर्य नमाने हुन्छ।’

विशेष