News

धैर्य गर्नुहोस्, केन्द्रीय संसद्को चुनावसम्म माओवादी पहिलो पार्टी हुन्छ - उपनेता रायमाझी

धैर्य गर्नुहोस्, केन्द्रीय संसद्को चुनावसम्म माओवादी पहिलो पार्टी हुन्छ - उपनेता रायमाझी

काठमाडौंः सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोले अब दोस्रो चरणको निर्वाचन जेठ ३१ गते नै हुने बताएका छन् ।

शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रायमाझीले पहिलो चरणको निर्वाचनमा जनताले आफ्नो पार्टीलाई अहिलेको भन्दा निकै राम्रो भोट दिने आफूहरूले आशा लिएको भए पनि आशा गरेजस्तो मत नआएको स्पष्ट पारे ।

‘हामीले त धेरै ठुलो आशा गरेका थियौँ, हुन त हामीले ०७० को निर्वाचनभन्दा राम्रो मत पाएका छौँ र हामीले यो भन्दा धेरै नै आशा गरेका थियौँ’, उनले भने, ‘एउटा कुरा के प्रस्ट भयो भने अझैपनि जनतामा ठुलो भ्रम रहेछ ।’

यद्यपि उनले आफ्नो पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुधार गर्ने, प्रदेशको चुनावमा धेरै राम्रो गर्न र केन्द्रीय संसद्को चुनावमा टप हुने दाबी गरे । ‘माओवादी पहिलो पार्टी हुन्छ, तर केन्द्रीय संसद्को चुनावसम्म धैर्य गर्नुहोस्’, उनले भने, ‘टोपबहादुरले बोलेको कुरा अहिलेसम्म फेल खाएको छैन, म जे बोल्छु त्यो पूरा हुन्छ ।’

उनले माओवादी पार्टी एक भएको भए कसैलेपनि पहिलो पार्टी बन्ने सपना नदेखे हुन्थ्यो भन्दै पार्टी विभाजनको बावजुदपनि तेस्रो स्थानमा आउनु खुसीको कुरा भएको बताए । ‘भन्नका लागि त यहाँ माओवादी अब पाँचौ वा छैटौँमा पुग्छ पनि भनियो, तर हामीले त्यसलाई विश्वास गरेका थिएनौं’, उनले थपे, ‘किनकि माओवादी त्यसै हराएर जाने पार्टी होइन, यो आन्दोलन हो नि।’

उनले पहिलो चरणको निर्वाचन सफल रूपमा सम्पन्न भएसँगै संविधान कार्यान्वयन अघि बढेको र प्रतिक्रान्तिको खतरा टरेको समेत स्पष्ट पारे । उनले आफूहरू जनतामा अब झांग्गिदै जाने भएकोलेपनि अब हुने चुनावहरुमा राम्रो नतिजा ल्याउने दाबी प्रस्तुत गरे । रायमाझीले माओवादी केन्द्रको नेतृत्वको सरकारले धेरै राम्रा राम्रा काम गरे पनि जनतामा यसलाई पुर्‍याउन नसक्नुपनि एउटा कमजोरी भएको स्वीकार गरे ।

‘माओवादीले आज लोडसेडिङ हटायो, उज्यालो नेपाल बनाएको छ, माओवादीले नै हो नेपालमा सबैभन्दा बढी राजश्व उठाएको’, उनले भने, ‘अहिले नेपालको इतिहासमा कहिल्यै नभएको आर्थिक वृद्धि भएको छ, चीनसँगको ओबोरमा हस्ताक्षर भएको छ, भारत र चीनसँगको सम्बन्ध सुमुधर भएको छ । माओवादीले धैरै विकास गरेको, फाष्ट ट्रयाक नेपाली सेनालाई बनाउने जिम्मा दिइएको छ।’

रायमाझीले दोस्रो चरणको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे । ‘अब निर्वाचन रोकिँदैन’, उनले भने, ‘अन्तिमसम्मपनि हामी मोर्चाका माँगहरु पूरा गराउन प्रयत्न गर्छौँ, अहिलेपनि गरिरहेका छौँ, यो कुरा उहाँहरूलाई पनि थाहा छ।’

फरक प्रंसगमा उनले आफ्नो पार्टी र कांगे्रसबीच भएको भद्र सहमति कार्यान्वयन हुने विश्वास दिलाए । उनले भने,‘माओवादीले बोलेको कुरा पुर्याउँछ, हामीले कांगे्रेससँग गरेको प्रतिबद्धता पूरा गराउँछौं, समयभित्रै हामी सरकार छोडेर मार्गप्रशस्त गर्छौँ ।’

रायमाझीले प्रधानमन्त्री प्रचण्डले सत्ता हस्तान्तरण गर्नेमा कुनै शङ्का नगर्न समेत आग्रह गरे । उनले भने, ‘दश दिन कुर्नुहोस्, सबै देख्नुहुन्छ, दोस्रो चरणको निर्वाचन कांग्रेस सभापति शेरबहादुरजीले गर्नुहुन्छ।’

विशेष