News

संवैधानिक अधिकारले चेपाङ पनि स्थानीय तहमा निर्वाचित

रमेश लम्साल

संवैधानिक अधिकारले चेपाङ पनि स्थानीय तहमा निर्वाचित

काठमाडौँः बर्षमा नौ महिना अनिकाल र तीन महिना मात्रै सहकालका रुपमा भोग्दै आएका अल्पसङ्ख्यक चेपाङ समुदायलाई नयाँ संविधानले राजनीतिक रुपमा अधिकार सम्पन्न मात्रै बनाएन, स्थानीय तहमा नै निर्वाचित हुने वातावरण बनाएको छ । मुलुकभर नै राष्ट्रिय जनगणना, २०६८ अनुसार कुल ८६ हजार ३९९ जनसङ्ख्या रहेको चेपाङ समुदाय निर्वाचित भएको र राजनीतिक अधिकार सम्पन्न भएको यो पहिलो पटक हो ।

धादिङ, गोरखा, मकवानपुर र चितवनमा सो समुदायको बाक्लो उपस्थिति रहेको छ । धादिङमा मात्रै आठजना चेपाङ समुदायका अगुवा यसपटकको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका छन् । धादिङको स्थानीय तहको निर्वाचनमा १४ जना चेपाङहरुले बेनीघाट रोराङ र गजुरी गाउँपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका थिए, तीमध्ये एक महिलासहित सात जनाले विजय हासिल गरेका छन् । नेकपा (एमाले)बाट तीनजना, नेकपा (माओवादी केन्द्र)बाट तीनजना र नेपाली काँग्रेसबाट एकजना गरी सातजना चेपाङ उम्मेदवार स्थानीय तहको निर्वाचनमा विजयी भएका हुन् ।

नेपाली काँग्रेसका तर्फबाट गजुरी वडा नं ४ को वडाध्यक्षमा सुजन चेपाङ विजयी हुनुभएको छ भने अन्य चेपाङ उम्मेदवार वडा सदस्यमा विजयी भएका छन् ।नेकपा (माओवादी केन्द्र)बाट विजयी हुने चेपाङ उम्मेदवार वीरबहादुर चेपाङ बेनीघाट रोराङ गाउँपालिका वडा नं १० का वडा सदस्य, पूर्णिमा चेपाङ, सोही गाउँपालिकाको वडा नं ७ सदस्य, राम्जी चेपाङ वडा नं आठ सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा (एमाले)बाट विजयी हुने चेपाङ उम्मेदवारमा सीताराम चेपाङ बेनीघाट रोराङ, गाउँपालिका वडा नं ६ का सदस्य, हर्कबहादुर चेपाङ सोही गाउँपालिका वडा ९ नं का सदस्य, सुजन चेपाङ गजुरी गाउँपालिका वडा नं २ का सदस्यमा तथा नेपाली काँग्रेसबाट सुरेन्द्र चेपाङ गजुरी गाउँपालिका वडा नं ४ बाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

अत्यन्तै सीमान्तकृत समुदायका रुपमा रहेको चेपाङ समुदाय स्थानीय तहको निर्वाचनबाट राजनीतिक मैदानमा उत्रेर विजयी भएका हुन् । धादिङका चेपाङ समुदायका अगुवा तिलक चेपाङले संविधानले गरेको नयाँ राजनीतिक व्यवस्थाले अल्पसङ्ख्यक समुदायलाई पनि राज्यको मूलप्रवाहमा ल्याएको बताए।

चेपाङ समुदायको गाँस, बास र कपासको समस्या नै सबैभन्दा जटिल समस्याका रुपमा रहेको छ । जलवायु परिवर्तन र मानवीय अतिक्रमणका कारण चेपाङ समुदायको परम्परागत खाद्यान्न गिट्ठा भ्याकुर लोप हुँदै गएको छ । चेपाङ अगुवा तिलक चेपाङले संविधानको प्रावधानअनुसार धादिङ, गोरखा, चितवन र मकवानपुरको चेपाङ बाहुल्य क्षेत्रलाई विशेष संरक्षित क्षेत्रका रुपमा विकास गर्नुपर्ने र उनीहरुलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा खण्डीकरण गरिएकोमा दुःख व्यक्त गरे ।

धादिङको बेनीघाट–रोराङ गाँउपालिकाको नाम नै चेपाङ समुदायसँग जोडेर राखिएको छ । चेपाङ भाषामा ‘रोराङ’को अर्थ ‘फूलबारी’ भन्ने हुन्छ । गोरखाको घ्याल्चोक, भुम्लीचोक, ताङचोक, मकैसिंह र ताक्लुङमा चेपाङ समुदायको बाहुल्य रहेको छ ।

चितवनको लोथर, सिद्धी र कोराकमा समेत सो समुदायको बाहुल्यता रहेको छ । मकवानपुरको हाँडीखोलामा वनकरियाका रुपमा रहेका समुदायसमेत चेपाङ नै रहेको तिलक चेपाङको भनाइ छ ।

नेपाली काँग्रेसबाट गजुरी गाउँपालिका–४ बाट वडाध्यक्ष निर्वाचित सुरेन्द्र चेपाङले आफ्नो पहिलो प्राथमिकता सडक निर्माण गर्नु रहेको बताए । उनले चेपाङ समुदायको भाषा, संस्कृतिलाई संरक्षण गर्न एवम् उनीहरुलाई खाद्यान्न एवम् दैनिक जनजीवनलाई सहज बनाउने आफ्नो प्रयास रहने जानकारी दिए।

प्रमुख राजनीतिक दलले पछिल्लो समय चेपाङ समुदायलाई राजनीतिको मूल प्रवाहमा ल्याउने प्रयास गर्नु सकारात्मक भएपनि आर्थिक विकास नगर्दासम्म अधिकारले मात्रै केही नहुने अगुवा तिलक चेपाङको भनाइ छ । 

विशेष