News

बेलकोटगढी प्रमुखमा एमालेका खनाल विजयी, निर्वाचित वडासदस्यको मृत्यु

बेलकोटगढी प्रमुखमा एमालेका खनाल विजयी, निर्वाचित वडासदस्यको मृत्यु

नुवाकोट: स्थानीय तह निर्वाचनअन्तर्गत् नुवाकोटमा रहेका १२ ओटै स्थानीय तहमा निर्वाचनमार्फत् नयाँ नेतृत्व चयन भएको छ ।

बेलकोटगढी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजेन्द्ररमण खनाल निर्वाचित भएका छन् । खनाल ६ हजार ६४३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर गुरुङले ६ हजार ३५१ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा माओवादी केन्द्रका कविता ढुंगाना ६ हजार ६६६ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रूपा सापकोटाले ६ हजार ४६० मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शंकरराज पाठकले जानकारी दिए ।

बेलकोटगढी नगरपालिकामा १० वडामा एमाले, दुई वडामा माओवादी केन्द्र र एक वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

नुवाकोटको सात स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेस, तीन स्थानीय तहको प्रमुखमा एमाले र दुई स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

१२ ओटा स्थानीय तह रहेको नुवाकोटमा यसअघि विदुर नगरपालिका र तार्केश्वर गाउँपालिकामा एमालेका उम्मेदवार प्रमुख र उपप्रमुख पदमा निर्वाचित भएका थिए ।

यस्तै, मेघाङ, किस्पाङ, सूर्यगढी, लिखु, तादी, दुप्चेश्वर र शिवपुरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

लिखु गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएपनि बाँकी ६ स्थानीय तहमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

यस्तै, ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

पञ्चकन्या गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वा्चित भएका छन् ।

वडासदस्यको मृत्यु

लिखु गाउँपालिका–१ बाट स्थानीय तह निर्वाचनमा निर्वाचित वडासदस्य ठाकुरप्रसाद लामिछानेको मृत्यु भएको छ ।

वैशाख ३१ मा भएको निर्वाचनमार्फत् नेकपा एमालेबाट उम्मेदवार भएर वडा नम्बर–१ को वडासदस्यमा निर्वाचित ४५ वर्षीय लामिछानेको हृदयघातका कारण मृत्यु भएको चिकित्सकले जनाएका छन् ।

निर्वाचित पदाधिकारीहरुको विजयर्‍याली भइरहेको समयमा अचानक ढल्न पुगेका लामिछानेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएको लिखु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।

लिखु गाउँपालिकाबाट निर्वाचित उम्मेदवारहरुको शपथ तथा प्रमाणपत्रग्रहण कार्यक्रम आइतबारका लागि आह्वान गरिएको थियो ।

विशेष