विदेश

३९ वर्षिय फ्रान्सका राष्ट्रपति र ६३ वर्षिय उनकी श्रीमतिको यस्तो छ रोचक प्रेम कहानी

३९ वर्षिय फ्रान्सका राष्ट्रपति र ६३ वर्षिय उनकी श्रीमतिको यस्तो छ रोचक प्रेम कहानी


एजेन्सी । फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा ३९ वर्षीय इम्म्यानुएल म्याक्रोन विजयी भएपछि उनीबारे रोचक कुराहरु बाहिर आएका छन् । फ्रान्सको राष्ट्रप्रमुखको हैसियतमा नेपोलियनपछिकै सबैभन्दा कान्छो युवानेता हुन, राष्ट्रपति म्याक्रोन । तर, उनी निर्वाचित भएपछि आफ्नो ‘नातिनी’ र श्रीमतीसँग जितको खुसियाली मनाइरहेका छन् ।

उनको राजनीतिक यात्रा कठिन भएपनि वास्तविक जीवन र प्रेम कुनै फिल्मकोभन्दा कम छैन । म्याक्रोन सन् १९७७ डिसेम्बरमा जन्मिएका थिए । उनले २९ वर्षको उमेरमा आफूभन्दा २४ वर्ष जेठी ब्रिजीट ट्रोनियोसँग सन् २००७ मा प्रेमविवाह गरेका थिए ।

म्याक्रोन १५ वर्षको हुँदा फ्रान्सको एमीएस सहरको जेसुएट स्कुलमा सबैभन्दा मेधावी विद्यार्थीकोरुपमा चर्चित भएका थिए । ब्रिजीटकी छोरी लरेन्स म्याक्रोनका सहपाठी थिइन् । आफ्नो छोरीले म्याक्रोनको निकै तारिफ गरेपछि ३९ वर्षीया ब्रिजीटले भेट्ने इच्छा देखाइन् ।

त्यतिखेर स्थानीय बैंकर्ससँग विवाह गरेर तीन सन्तानकी आमा बनिसकेकी ब्रिजीट छोरीकै सहयोगमा नाटक हेर्ने बहानामा म्याक्रोनलाई भेटेकी थिइन् ।
१५ वर्षका म्याक्रोन र ३९ वर्षीया ब्रिजीटको प्रेमकहानी पहिलो भेटबाट नै सुरु भएको दुबैले स्वीकारिसकेका छन् ।

‘सीएनएन’ले उनीहरुको जीवनीमा आधारित फ्रेन्च डकुमेन्ट्रीमा उल्लेख गरेअनुसार म्याक्रोन स्कुलको नाटक समूहमा सहभागी थिए । उनले ‘ज्याक एन्ड हिज मास्टर’मा मुख्य भूमिका निभाएका थिए ।

म्याक्रोनले नाटकको मन्चबाटै दर्शकदीर्घामा बसेर नाटक हेरिरहेकी ब्रिजीटलाई पहिलोपटक मन पराएका थिए । त्यहि समयदेखि उनले प्रेमका लागि अनेक बहाना बनाएको बताएका छन् । नाटक लेख्ने बहानामा उनीहरु हरेक शुक्रबार भेट्ने गर्दथे । ब्रिजीटले डकुमेन्ट्रीमा भनेकी छन–‘मैले लामो समयसम्म यस्तो सम्बन्ध चलिरहन्छ भन्ने कल्पनासमेत गरेकी थिइनँ । म्याक्रोनलाई कतै निराशा त हुँदैन भन्ने डर थियो । तर, विस्तारै हामीले नाटक लेख्न थाल्यौं र मलाई म्याक्रोनको बौद्धिकताले आर्क्िषत गरेको थियो ।’

म्याक्रोनको जीवनमा आधारित पुस्तक ‘इम्म्यानुएल म्याक्रोनः अ पर्फेक्ट योङ म्यान’की लेखिका एनी फल्डाकाअनुसार म्याक्रोन दिनदिनै ब्रिजीटको घर जान थालेपछि उनका बाबुआमले ब्रिजीटकी छोरी लरेन्ससँग प्रेममा परेको अड्कल गरे ।

यहि कारण म्याक्रोनको बाबुआमाले उनलाई पढ्नका लागि पेरिस पठाइदिए । पुस्तक लेख्नेक्रममा फल्डाले म्याक्रोनका बाबुआमासँग कुरा गरेकी थिइन् । सोक्रममा म्याक्रोनका बाबुले आफ्नो छोरा, छोरीसँग नभइ आमासँगको प्रेममा रोमान्स गरिरहेको आफूहरुले अनुमानसमेत गर्न नसकेको बताएका थिए ।
म्याक्रोन पढ्नका लागि पेरिस गएपछि ब्रिजीटसँग फोनमा घन्टौं कुराकानी गर्ने गरेको उक्त पुस्तकमा उल्लेख छ ।

ब्रिजीटले एक अन्तर्वार्तामा भनेकी छन–‘हामी सँगै हुँदा बरु त्यस्तो कुरा हुँदैनथ्यो तर, म्याक्रोन पेरिस गएर फोन गर्न थालेपछि मभन्दा धेरै कान्छो भएपनि मलाई जितेर कुरा गर्नसक्ने खुबी थियो ।’

‘डेलीमेल’लाई ब्रिजीटले बताएअनुसार म्याक्रोनले उनीसँग १७ वर्षकै उमेरमा विवाहका लागि प्रस्ताव गरेका थिए । तर, ब्रिजीटले मानिनन् । म्याक्रोनले लगातार १२ वर्षसम्म जिद्धी गरिरहे र अन्त्यमा यस मामिलामा पनि म्याक्रोनले जितेरै छाडे ।

म्याक्रोन २९ वर्ष भएपछि ५४ वर्षीया ब्रिजीटले विवाहका लागि हरियो झन्डा फहराइदिइन् । सन् २००७ मा यी जोडीले विवाह गरेर बाँकी विश्वलाई चकित बनाइदिए ।
सन्चारमाध्यमहरुले धेरैपटक यस प्रेमजोडीको प्रेमको सुरुवात सोधेपनि ‘केहि कुरा हाम्रो निजी’ भन्दै गोप्य राख्न चाहेको बताउँदै आएका छन् ।
अहिले यी दुबै जोडी खुसी छन् । म्याक्रोनले ब्रिजीटलाई विवाह गरेपछि कुनै सन्तानको इच्छा देखाएनन् । उनले ब्रिजीटकै छोराछोरीलाई आफ्नो सन्तान मानेका छन् ।

अहिले म्याक्रोन ३९ वर्षका भए । उनका ‘छोरा’ उनीभन्दा दुई वर्ष जेठा छन् भने छोरी आफ्नै उमेरकी छन् । म्याक्रोन राष्ट्रपतिको उम्मेदवार बनेपछि आफ्नो श्रीमानबारे टिप्पणी गर्दै ब्रिजीटले भनेकी थिइन–‘म्याक्रोन बौद्धिकताको हिसाबले कुनै दोस्रो ग्रहबाट आएको प्राणीजस्तो छन् । यति समझदार मानिस आजसम्म मैले भेटेकी छैन, अबको फ्रान्सको राजनेता हुन्छन् उनी ।’

तर, म्याक्रोन आफ्नो हरेक प्रगतिमा श्रीमतीको सहि सल्लाह र सुझावले आफू सफल हुन सकेको बताउँछन् ।

विशेष