News

बेलायतमा भएको आतङ्ककारी हमलाको निन्दा

बेलायतमा भएको आतङ्ककारी हमलाको निन्दा

काठमाडौँः नेपाल सरकारले बेलायतको म्यान्चेस्टर एरेनास्थित एक कन्सर्टमा गए राति भएको आतङ्ककारी हमलामा परी १९ जनाको ज्यान गएको घटनाको निन्दा गरेको छ ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई आज पत्र लेखी उक्त हमलामा परी १९ जनाको ज्यान गएको समाचारले आफू र नेपाल सरकारलाई अत्यन्त दुःखी बनाएको बताएका छन् । उनले यस दुःखद घडीमा आफू, नेपाल सरकार र नेपाली जनताका तर्फबाट बेलायती सरकार र जनताप्रति समवेदना प्रकट गरेका छन् ।

मन्त्री डा महतले सो घटनाका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घटनामा परी कैयौँ व्यक्ति घाइते भएका छन् ।

मन्त्री डा महतले सो घटनाको निन्दा गर्दै यस्तो अमानवीय कार्यमा संलग्नलाई जति सक्दो चाँडो कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिए । उनले नेपाल सधैँ सबैखाले आतङ्ककारी क्रियाकलापको विरुद्धमा छ भन्दै सो पत्रमा आतङ्ककारीका विरुद्धमा गरिने कारबाहीमा नेपाल सरकार बेलायत सरकार र बेलायती नागरिकका पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे । 

विशेष