News

७ दिन ७ रात एकै ठाउँमा !

७ दिन ७ रात एकै ठाउँमा !

जेठ ९ । समयमै कार्यालय आउने, मुद्दा सुनुवाइ गर्ने र समयमै घर फर्कने । केहीबेर परिवारसँग समय बिताउने र लेखपढ गरेर समयमै सुत्ने । बिहान समयमै उठ्ने । घरमै पकाएको मात्र खाने । आहारविहारको अनुशासन कुनै हालतमा नतोड्ने । न्यायाधीश दीपेन्द्र अधिकारीको यो दैनन्दिन अहिले खलबलिएको छ । उनको दिनचर्या र जीवनशैलीलाई खलबल्याउने काम वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनले गरेको हो ।

सात दिन सात रात भयो, प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभाहलभित्र कैद छ उनको दैनन्दिन । कम्पाउन्डबाहिर निस्कनसम्म पाएका छैनन् । काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत दीपेन्द्रकै नेतृत्वमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो । मतगणनाले भने उनलाई सभागृहको ‘बन्दी’ जस्तै बनाइदिएको छ ।

३१ गते बेलुकी मतपत्रका बाकस राष्ट्रिय सभागृह ल्याइएदेखि नै न्यायाधीश अधिकारीको ध्याउन्न छिटोभन्दा छिटो मतगणना सक्ने भन्नेमा छ । काठमाडौं महानगरको मतगणना कछुवा गतिको भएको भन्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । गजब कुरा त के छ भने मुख्य निर्वाचन अधिकृत अधिकारीको कक्षमा न त अहिलेसम्म पत्रपत्रिका नै पुगेको छ, न उनलाई टेलिभिजन हेर्ने फुर्सद छ । बाहिरबाट भेट्न जाने र पत्रकारले सोध्ने प्रश्नका आधारमा मुलुकमा के भइरहेको छ भन्नेसम्म थाहा छ उनलाई । किनकी, उनी मतगणनाको जिम्मेवारी छाडेर एकछिन पनि यताउता लाग्न पाउँदैनन् ।

उनको अनुपस्थितिमा केही समस्या आए त्यसको जिम्मेवारी अरू कसैले लिनेछैन। सुरक्षाकर्मीलाई छिचोल्दै सोमबार करिब १२ बजे सभागृहको भुइँतलाको कोठामा पुग्दा अधिकारी भर्खर खाना खाएर बसेका थिए । कोठामा एउटा सोफा र सानो टेबल थियो। सोफा देखाउँदै अधिकारीले भने, ‘समय मिले केहीबेर यही सोफामा ढल्किने गरेको छु।’ उनी घर नगएको सात दिन नाघिसक्यो। ‘अझै कति दिन लाग्ने हो’ उनले भने । अहिले महानगरपालिकाको मतगणना १३ स्थानबाट भइरहेको छ। अधिकारीका अनुसार एक सिफ्टमा करिब १ सय २५ जना कर्मचारीले मतगणना गरिरहेका छन् ।

सिफ्टअनुसार पालैपालो मतगणना हुन्छ। ‘धेरै साथीहरू त बिरामी परिसक्नुभयो,’ उनले भने, ‘के गर्ने दिनरात काम गरिरहेपछि समस्या भइहाल्छ ।’ उनले थपे, ‘हाम्रो लक्ष्य छिटो मतपरिणाम बाहिर ल्याउने हो । नियम र कानुनसम्मत काम गर्नु नै पर्‍यो । सबै कुरा मिलाएर गर्दा समय लाग्ने रहेछ ।

कान्तिपुर

विशेष