व्यापार

रोल्पामा उत्पादित अल्लो अस्ट्रेलियादेखि अमेरिकासम्म

रोल्पामा उत्पादित अल्लो अस्ट्रेलियादेखि अमेरिकासम्म

रोल्पा: रोल्पाका अल्लो उद्योगबाट उत्पादित वस्तु अमेरिका तथा अस्ट्रेलियाको बजारसम्म पुग्ने गरेको छ । नवदुर्गा अल्लो धागो तथा कपडा उद्योग इरिवाङ, रोल्पाले अल्लोबाट उत्पादन गरेको जुत्ता, कोट तथा पर्स अमेरिका र अस्ट्रेलिया पुग्ने गरेको उद्योगका अध्यक्ष लक्ष्मी डाँगीले बताए।

उद्योगबाट झोला, सल, पटुकालगायत स्थानीय बजारमा खपत हुने सामग्रीका साथै जुत्ता, पर्स तथा कोटजस्ता बाह्य बजारमा खपत हुने सामग्री उत्पादन हुने गरेको डाँगीले बताए । काँचो कपडादेखि वस्तु निर्माणसम्म गर्ने सो उद्योगले वार्षिक चार लाखभन्दा बढी आम्दानी गर्ने गरेको डाँगीले बताए ।

प्रशोधित धागो काठमाडाैँ, सङ्खुवासभालगायत देशका विभिन्न जिल्लामा जाने गरेको उद्योगले बताएको छ । उत्पादन गुणस्तरीय भएका कारण माग बढेकाले मागअनुसार सामान पु¥याउन नसकिएको अध्यक्ष डाँगीले जानकारी दिए।

अन्तर्राष्ट्रिय बजारमा समन्वय गर्ने काम राष्ट्रिय लघुउद्यमी महासङ्घले गरिरहेको तथा विभिन्न निकायसँग समन्वय गरी देशका विभिन्न भागमा बजार खोज्ने गरेको डाँगीले बताउनुभयो । देशका विभिन्न जिल्लामा सञ्चालन हुने महोत्सवमा समेत आफ्नो उत्पादन बिक्री हुने गरेको डाँगीले जानकारी दिए। सुरुमा जिविस रोल्पाले प्रविधि सहयोग र दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्नाका साथै मेडेपले समेत सहयोग गरेको उद्योगले बताएको छ ।

जिल्लाबाट उत्पादित वस्तु बिक्री वितरण गर्ने भन्दै सदरकुकाम लिवाङमा कोसेली घरसमेत सञ्चालनमा आएका छन् । जिल्लामा उत्पादन हुने सिमी, भांगो, टिमुर, भटमास, मह, घीउ तथा अल्लो र भांगोबाट उत्पादित विभिन्न काँचो तथा तयारी सामान विक्री वितरण हुँदै आएको सौगात कोसेली घरकी सञ्चालक पवन वलीले जानकारी दिए ।

जिल्ला भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकले आफ्नो पसलबाट, अल्लोबाट निर्मित कोट, पर्स, ब्यागका साथै घीउ, मह, सिमी, भांगो, टिमुरजस्ता सामान बिक्री गरी दैनिक ८ हजारभन्दा बढी आम्दानी हुँदै आएको वलीले बताए । बजार माग बढिरहेको तथा सामान आपूर्ति कम रहेका कारण ग्राहकको आकर्षणअनुसार सामान पु¥याउन धौ धौ परेको सदरमुकाममा नै अर्को कोसेली घर सञ्चालन गर्नुभएकी हिरा घलेले बताए ।

शान्ति प्रक्रियापछि रोल्पा घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाको सङ्ख्या वृद्धि भइरहेकाले रोल्पाको चिनोस्वरुप यहाँको उत्पादन लानेक्रम पनि बढिरहेको उनले बताए । जिल्लामा दर्जनभन्दा बढी अल्लो धागो उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका कार्यालय प्रमुख बालकृष्ण आचार्यले बताए । अल्लोप्रति धेरैको आकर्षण रहे पनि व्यावसायिक उत्पादन भने हुन नसकेको आचार्यले बताए ।

जिल्लामा सेरम, लिवाङ, ह्वामा, धवाड, घर्तीगाउँ, जेल्वाडलगायत स्थानमा अल्लो उद्योग रहेको आचार्यले बताए । हरेक उद्यमीले कम्तीमा मासिक रु १४ हजारसम्म आम्दानी गरिरहेको आचार्यले बताए ।

उद्यमीका लागि तालिम, मेसिन, प्रविधि सहयोग तथा न्यून ब्याजमा ऋणको व्यवस्था गरिएको आचार्यले बताए। गाउँमै उत्पादित अल्लोबाट सामग्री उत्पादन भएकाले उद्योग दिगोरुपमा सञ्चालन हुनेमा आफू आशावादी रहेको कार्यालय प्रमुख आचार्यले बताए। 

विशेष