News

गणतन्त्र दिवसको तयारीका लागि जिम्मेवारी बांडफांड

गणतन्त्र दिवसको तयारीका लागि जिम्मेवारी बांडफांड

‘गणतन्त्र दिवस मूल समारोह समिति’ ले ११औँ गणतन्त्र दिवसका अवसरमा सम्बन्धित निकायलाई विभिन्न जिम्मेवारी दिएको छ ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको उपस्थितिमा आज मन्त्रालयमा बसेको बैठकले दिवसको अवसरमा उपत्यका भित्रका महानगरपालिका र नगरपालिकाले आ–आफ्ना क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवम् ब्यानर सजाई नगरको सरसफाई गर्न जिम्मवारी तोकेको छ ।

त्यसैगरी बैठकले जेठ १४ गते गणतन्त्र दिवस भव्यताका साथ मनाउन सञ्चारमाध्यमबाट सार्वजनिक अपिल गर्ने, नेपाल टेलिभिजन, रेडियो नेपाललगायत निजी क्षेत्रका सञ्चारमाध्यमबाट गणतन्त्रको महत्वका बारेमा परि संवाद-अन्तरवार्ता कार्यक्रम गर्ने जिम्मेवारी दिएको छ । समितिले राष्ट्रियस्तरका पत्रपत्रिकामा गणतन्त्र विशेषाङ्क÷स्मारिकाका रूपमा प्रकाशन गर्नुका साथै गणतन्त्रको बहुक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख रचनाको सङ्गालो प्रकाशन गर्नसमेत आमसञ्चारमाध्यमलाई अपिल गरेको छ ।

जेठ १५ गते गणतन्त्र दिवसको दिन नेपाली सेनाद्वारा तोप तथा बन्दुकको बढाई गर्ने, राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र गणतन्त्रका लागि आफ्नो जीवनउत्सर्ग गर्ने ज्ञात-अज्ञात सहिदको आत्माको चिरशान्तिका लागि राष्ट्रका तर्फबाट उच्चसम्मान र श्रद्धाञ्जलि प्रकट गर्नुका साथै विभिन्न मठमन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

दिवसका अवसरमा जिल्लामा रहेका जिल्ला समारोह समितिले यही जेठ १४, १५ र १६ गते प्रभातफेरी, खेलकुद, गोष्ठीलगायत विभिन्न कार्यक्रम गरी मनाउने छन् ।

गणतन्त्र दिवस जिम्मेवारी

विशेष