विदेश

फिलिपिन्समा सैनिक शासन लागू

फिलिपिन्समा सैनिक शासन लागू


जेठ १० । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले दक्षिण मिन्डानाओ प्रान्तमा सैन्य शासन लागू गरेका छन् ।  मिन्डानाओमा सेना र विद्रोहीबीच संघर्ष चलिरहे पछि राष्ट्रपतिले सैन्य शासन लागू गरेका हुन् ।

पछिल्लो संघर्षमा सुरक्षा बलका तीन सदस्यको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सैन्य शासन २ महिनासम्म लागू हुने छ । सैन्य शासन लागू भएपछि कुनै पनि आरोप विनै सेनाले कसैलाई पनि लामो समयसम्म हिरासतमा राख्न पाउने छ ।

मिन्डनाओमा मुस्लिम विद्रोही संगठनले स्वायत्तताको माग गर्दै आन्दोलन गरिरहेको छ । सेनाले भने केही विद्रोही समूहले चरमपन्थी संगठन इस्लामिक स्टेटको सहयोग लिएको दाबी गरेको छ । विद्रोहीलाई पक्राउ गर्ने क्रममा सेनासंग पटकपटक झडप हुने गरेको छ । सेनाले अहिले त्यहांका विद्रोहीलाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।

फिलिपिन्सका रक्षा मन्त्री डेल्फिन लोरेञ्जले पछिल्लो समयमा विद्रोहीले एक अस्पताल र एक कारागारलाई कब्जामा लिएको र एउटा चर्चमा समेत आगो लगाएपछि सैन्य शासन लागू गर्नुपरेको जिकिर गरेका छन् । फिलिपिन्सको संविधानअनुसार हमला वा विद्रोहको स्थिति आएमा राष्ट्रपतिले ६० दिनसम्म सैन्य शासन लागू गर्न सक्ने प्रावधान छ ।

तर त्यहांको संसद्लाई सैन्य शासन लागू गरेको आदेश ४८ घण्टाभित्रै रद्द गर्ने अधिकार छ भने सर्वोच्च अदालतलाई यसको वैधता जांच गर्ने अधिकार छ ।

Matrial Law in Philipince

विशेष