विदेश

ट्रम्पलाई पर्यो संकट ज्वाई एफबीआईको अनुसन्धानको घेरामा

ट्रम्पलाई पर्यो संकट ज्वाई एफबीआईको अनुसन्धानको घेरामा


जेठ १२ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति ट्रम्पका छोरी ज्वाइं तथा ह्वाइट हाउसका सल्लाहकार ज्यारेड कुश्नर गत वर्षको निर्वाचनमा रुसी हस्तक्षेपबारे एफबीआइले थालेको अनुसन्धानको घेरामा रहेको जनाएका छन् ।

संघीय जाँच ब्यूरो एफबीआइका अनुसन्धानकर्ताहरुले ३६ वर्षीय कुश्नरसंग उनीहरुले थालेको छानविनका निम्ति महत्वपूर्ण जानकारी हुन सक्ने विश्वास गरेको एनबीसीन्यूजलाई अधिकारीहरुले बताएका छन् ।

एफबीआइले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनताका रुसबाट भएको सम्भावित हस्तक्षेप र ट्रम्प अभियानसंग त्यसको सम्बन्धबारे छानविन थालेको छ ।
नाम नखुलाइएका अमेरिकी अधिकारीहरुले कुश्नरबारे अनुसन्धानकर्ताहरुको चासो हुनु भनेको उनी कुनै अपराधमा संलग्न भइहालेको भन्ने गरी बुझ्न नहुने बताएका छन् । साथै, कुश्नरविरुद्ध कुनै कानुनी अभियोग लगाउने योजना नभएको उनीहरुले बताए ।

कुश्नरले गत वर्ष रुसी राजदूत सेर्गेइ किस्ल्याक तथा एक रुसी ब्यांकर सेर्गेइ गोर्कोभसंग भेटेको बताइएको छ । कुश्नरका वकिलका अनुसार उनले यसअघि नै आफुसंग ती भेटघाट बारे रहेका जानकारी कंग्रेस समक्ष बाँड्न तयार रहेको बताइसकेका छन् ।

साथै, त्यस्ता जानकारी अन्य जुनसुकै छानविनकर्ताहरुले मागे पनि दिन कुश्नर तयारै रहेको उनले बताए । ट्रम्पले आफ्नो अभियान र रुसबीच कुनै पनि सांठगांठ नभएको बताउँदै आएका छन् ।

सो छानविनलाई उनले अमेरिकी इतिहासमै कुनै राजनीतिज्ञविरुद्ध नियतवश छेडिएको सबभन्दा ठूलो अभियान भनेका छन् ।

Donald Trump Jared Kushner

विशेष