राजपा नेता अन्सारी एमाले प्रवेश
१३ जेठ, राष्ट्रिय जनता पार्टीका मुस्लिम नेता आफ्ना समर्थकसहित नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मधेसमा रक्षात्मक बनिरहेको एमालेले बिभिन्न पार्टीबाट मधेसी नेताहरुलाई प्रवेश गराउँदै टिकट दिने रणनीति बनाएका बेला राजपाका सहमहामन्त्री समिम मिया अन्सारी शनिबार एमाले प्रवेश गरेका हुन् । कार्यक्रममा मुस्लिम नेता अन्सारीलाई अध्यक्ष केपी शर्मा अोलीले पार्टीमा स्वागत गरे ।
उनीसँगै प्रवेश गरेका अन्य मुस्लिम कार्यकर्तालाई पनि एमाले नेताहरु स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले रमादानको बेला दोस्रो चरणको चुनाव जेठ ३१ गते नराख्न आग्रह गर्दा त्यो बेला सत्तापक्षका नेताले नमानेको बताए । उनले भने मैले पटक पटक मुस्लिम समुदायको रमादान परेकाले जेठ ३१ मा नराख्नुस भन्दा शेरवहादुर देउवाले मुसलमानलाई गएर सत्तापक्षले मानेन भन्दिनुस भने ।’
एमालेले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा मुस्लिम उम्मेदवार उठाइसकेको र अब मधेसका धेरै ठाउँमा मुस्लिमलाई उम्मेदवार बनाउने भन्दै ओलीले मुस्लिम मत आकषिर्क गर्न खोजे ।
राजपा नेता अन्सारीले चुनाव बहिस्कार गर्ने राजपाको निर्णय मधेसी जनताको अधिकार स्थापित हुन नदिने उद्देश्यबाट आएकाले आफू सो पार्टीमा रहन नसकेको बताए ।