News विदेश

श्रीलंकामा बाढी पहिरोबाट १२२ को मृत्यु, पाँच लाख विस्थापित

श्रीलंकामा बाढी पहिरोबाट १२२ को मृत्यु, पाँच लाख विस्थापित

श्रीलंका । श्रीलंकामा मनसुन–पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोका कारण १२२ को मृत्यु हुनुका साथै पाँच लाख व्यक्ति विस्थापित हुनु परेको र अझै कतिपय जोखिमयुक्त स्थितिमा गुजारा चलाइ रहेका छन् ।

सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा शनिबार (हिजो) करिब पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ ।

यस दैवी प्रकोपमा परी शनिबारसम्म कम्तीमा १२२ जनाको मृत्यु भइसकेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।
श्रीलंकाको प्रमुख सामुन्द्रिक द्विपका दक्षिणी र पश्चिमी क्षेत्रहरुका समथर मैदानी भूखण्डमा गत शुक्रबार आएको बाढीे र पहिरो विगतका १४ वर्ष पछिको सबभन्दा भयंकर भएको बताइएको छ ।

समथर भूभाग भएका तल्ला इलाका अझैपनि जलमग्न भई पूरै डुबानमा परेको स्थानीय अधिकारीले जनाएका छन् ।
उक्त बाढी र पहिरोमा परी १२२ जनाको मृत्यु हनुको साथै ९७ जना हराइरहेका श्रीलंकाको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी)ले पनि पुष्टि गरेको छ । साथै यस प्रकोपमा परी घाइते भएका ४९ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।

यस प्रकोपमा मारिएका १२२ जनामध्ये पहिरोकै कारण अधिकांशको र डुबानमा परी केही संख्यामा मात्र मृत्यु भएको श्रीलंकाका स्वास्थ्यमन्त्री तथा सरकारका प्रवक्ता राजिथा सेनारात्नेले बताएका छन् ।

उनका अनुसार कतिपय सर्वसाधारणलाई सम्झाउँदा बुझाउँदापनि आफ्नो थात थलो छोडेर जान नमानेकाले केही बल प्रयोग गरी उनीहरुको बासस्थानबाट अस्थायी शिबिरमा लग्नु परेको थियो ।

सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय संघसंस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाहरुको खोजीलाई निरन्तरता दिएको छ ।

संयुक्त राष्ट्र संघीय बिश्व स्वास्थ संगठन, बिश्व बालबालिका कोष, भारत, पाकिस्तान लगायत अन्य मुलुकले यस बाढी पहिरो पीडित जनताहरुलाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ता कपडा तथा अन्य उद्धार सामाग्रीको सहयोग पठाइ रहेका छन् ।

श्रीलंकामा लामो समयसम्म परेको खडेरीका कारण सुक्खा लागी कृषि उत्पादनमा अत्यन्त नकारात्मक प्रभाव पर्नुका साथै नदी खोला नाला सुकी जल बिद्युतको उत्पादन र आपूर्ति अत्यन्तै न्यून भै रहेको थियो ।

अहिले भएको बर्षातले राष्ट्रलाई नै पीडा थपिए ता पनि कृषि उत्पादन तथा बालीनालीका लागि भने बरदान पाएजस्तो भएको छ ।
श्रीलंकालाई सन् २००३ देखि बाढी पहिरोले नराम्ररी सताउन थालेको हो । त्यस वर्ष परेको भीषण वर्षातले २ सय पचास जनाको मृत्यु हुनाको साथै दश हजार जति घर धुरी नष्ट भएका थिए ।

गतवर्ष आएको भीषण मनसूनी वर्षातका कारण ठाउँठाउँमा भएका बाढी र पहिरोका घटनामा एकसय जनाभन्दा बढीको मृत्यु भएको थियो ।

 

srilanka flood

विशेष