News विदेश

बेलायतमा २३ हजार जिहादी लडाकू, सम्भाब्य आत्मघाती आक्रमण हुनसक्नेः प्रतिवेदन

बेलायतमा २३ हजार जिहादी लडाकू, सम्भाब्य आत्मघाती आक्रमण हुनसक्नेः प्रतिवेदन

लन्डन । बेलायती राष्ट्रिय अनुसन्धान (जासूसी) निकायले मुलुकभर २३ हजारको हाराहारीमा मुस्लिम अतिवादी जिहादी लडाकूहरु बसोबास गरिरहेका छन् भनी बेलायती सरकारसमक्ष पेश गरेको एक प्रतिवेदन आइतबार (आज) सार्वजनिक भएको छ ।

मर्न र मार्न तम्तयार भै बसिरहेका यिनीहरुलाई नै बिभिन्न आतंकबादी संगठनहरुले आत्मघाती आक्रमणमा प्रयोग गर्ने गरेका समेत सो प्रतिवेदनमा जनाइएको छ ।

आत्मघाती बम आक्रमण वा अन्य प्रकारका हिंसात्मक घटना रोकथाम गर्न बेलायती सुरक्षा निकायसक्षम रहेको तथा प्रशस्त अवसर र विकल्प छँदाछँदै सो गुमाएर गत सोमबार राति म्यान्चेस्टर एरिनामा आत्मघाती आक्रमण हुनु लाजमर्दो कुरा भएको भनी सर्वत्र आलोचना भएको थियो ।

त्यसपछि बेलायती राष्ट्रिय सुरक्षा सेवाद्वारा लन्डनको स्थानीय ह्वाइटहलमा एक पत्रकार सम्मेलनको आयोजना गरी उपरोक्त जानकारी दिइएको हो ।
कूल २३ हजार जना जिहादी लडाकूहरुमध्ये करिब तीनहजार सम्भाब्य आत्मघाती आक्रमणकारीहरु बेलायतलाई जहिलेपनि अधिकतम खतरनाक सावित भै रहेका र बाँकी बीस हजार जनापनि अलि कम खतरनाकको श्रेणीमा परे तापनि यिनीहरुउपर कडा निगरानी राखी सदैब सतर्क रहनुपर्ने समेत खुलासा गरिएको छ ।

म्यान्चेस्टर आक्रमणपश्चात् बेलायती प्रहरी र अनुसन्धान निकायले गतः एक हप्ताभित्र सञ्चालन गरेको अनुसन्धान तथा अपरेशन कारबाहीको क्रममा उपरोक्त तथ्य पत्ता लागेको जनाइएको छ ।

यस बर्ष सम्पूर्ण बेलायतभरी सनसनी फैलाउने गरी भएका दुई खतरनाक आत्मघाती बम आक्रमणका नाइकेहरु – म्यान्चेस्टर एरिना घटनाका सलमान आबेदी र दुई महिना अघि पाँचजना मानिसको ज्यान जाने गरी वेस्ट मिन्स्टर आत्मघाती आक्रमण घटनाका खालिद मसूद, यी दुवै जनाउपर पहिलेदेखि नै निगरानी बढाउनु पर्नेमा सो गर्न छुटेको राष्ट्रिय सुरक्षा सेवाले स्वीकार गरेको छ ।

म्यान्चेस्टर एरिना घटनाको अनुसन्धानको क्रममा हालसम्म ११ जनालाई पक्राउ गरी प्रहरी नियन्त्रणमा लिइएको र अन्य कतिपयलाई पनि पक्राउ गर्न निरन्तर खोजी भै रहेको छ । घटनाको नाइके सलमान आबेदीका पृष्ठभूमिमा रहेका सबैजसोलाई पनि पक्राउ गरिसकिएको जनाइएको छ ।

यसैबीच, बेलायती प्रधानमन्त्री टेरेसा मेले राष्ट्रब्यापी सुरक्षाको स्थितिलाई पहिला घोषणा गरिएको क्रिटिकल (नाजूक अवस्था) को श्रेणीबाट झारी सिभर (कठोर अवस्था)को श्रेणीमा राख्ने आदेश दिएकी छिन् । तथापि सशस्त्र सुरक्षाकर्मीका समूहले राजधानीमा सोमबारसम्म २४ सै घण्टा गस्तीमा खटिई सुरक्षा निगरानी बढाइ रहने छन् ।

गत २२ मे सोमबार साँझ आयोजित संगीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै भएको भीषण आतंककारी आक्रमण परी २२ जनाको मृत्यु भएको थियो भने, अरु कैयाैँ घाइते भएका थिए ।

विशेष