News

चुनावमा एक मत पनि नल्याउने नगरप्रमुखका उम्मेदवार

चुनावमा एक मत पनि नल्याउने नगरप्रमुखका उम्मेदवार

भक्तपुर । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन गत वैशाख १९ गते स्थानीय तह मध्यपुर थिमि नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयको वातावरण उल्लासमय थियो ।

राजनीतिक दलमात्र होइन, सर्वसाधारणकोसमेत निर्वाचन कार्यालयमा उत्सुकतापूर्ण भिड थियो । यही भिडमा स्वतन्त्र उम्मेदवारको हैसियतले मध्यपुर थिमि नगरपालिकाका प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउनेमध्येका एक थिए, मध्यपुर थिमिका बाबुकष्ण श्रेष्ठ ।

वैशाख ३१ गते निर्वाचन सम्पन्न भयो र जेठ १ गते बिहानदेखि सुरु भएको मतगणना–८ गते बिहान सम्पन्न भयो । तर, श्रेष्ठले एक मत पनि प्राप्त गर्न सकेनन् । श्रेष्ठको चुनाव चिह्न थियो ‘ब्याडमिन्टन र कर्क’ ।

निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलकाअनुसार चुनाव चिह्न ब्याडमिन्टन र कर्कमा एक मत पनि आएन । पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत् भक्तपुरका चार नगरपालिकामा सम्पन्न निर्वाचनमा शून्य मत प्राप्त गर्ने बाबुकृष्ण श्रेष्ठ एक प्रतिनिधि पात्रमात्र होइनन् । उनीजस्तै एक मत पनि प्राप्त नगर्ने अरु पनि उम्मेदवार छन् ।

सो नगरपालिकाको प्रमुखका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका थिए भने उपप्रमुखमा ६ जनाले । उक्त नगरपालिकामा शून्य मत प्राप्त गर्ने अर्का नगरप्रमुख पदका उम्मेदवार रोमन बज्राचार्य पनि हुन् । उनको चुनाव चिह्न ‘चमेरो’ थियो ।

बज्राचार्यले निर्वाचनको प्रचार–प्रसारकोक्रममा कतै पनि आफ्नो प्रचार सामग्रीसमेत राखेनन् । निर्वाचनमा आफैंले आफूलाई मत नदिनुको कारणबारे उनीसँग प्रतिक्रिया माग्दा बोल्न चाहेनन् । बज्राचार्यले यसलाई समाचार बनाउनुपर्ने र यसबारेमा कुनै प्रतिक्रिया दिनुपर्ने आवश्यकता नभएको बताए ।

त्यसैगरी, मध्यपुर थिमिको वडा नम्बर–७ का वडाध्यक्ष पदका ‘कंगारु’ र ‘गमबुट’ चिह्नका उम्मेदवारले पनि शून्य मत पाएका थिए । मध्यपुरमा एक मत पनि प्राप्त नगर्नेमा वडाध्यक्षका उम्मेदवार दुईजना पनि छन् । मध्यपुर थिमिमा १० भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको संख्या नगरप्रमुखमा दुईजना, वडाध्यक्षमा ११ र वडासदस्यमा ३५ जना छन् ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार नगरप्रमुखका उम्मेदवार ‘बिरालो’ चिह्नका महाप्रसाद पराजुलीले एक, ‘ब्याट्री’ चिह्नका सरिता दुवाले दुई मत प्राप्त गरेका थिए । निर्वाचनमा १० भन्दा कम मत ल्याउने वडाध्यक्ष र वडासदस्यका उम्मेदवार अधिकांश राष्ट्रिय जनमोर्चा, नेकपा माले र संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको गठबन्धनका उम्मेदवार रहेका छन् ।

त्यसैगरी, भक्तपुर नगरपालिकामा शून्य मत ल्याउने उम्मेदवारको संख्या ११ छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार भक्तपुर नगरपालिकाका वडाध्यक्षमा उम्मेदवारी दिने १० जना र वडासदस्यमा उम्मेदवारी दिने एक गरी कुल ११ उम्मेदवारले शून्य मत प्राप्त गरेका हुन् ।

कार्यालयले उपलब्ध गराएको विवरणअनुसार भक्तपुर नगरपालिका–२ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार ‘टि टेबल’ चुनाव चिह्नका सूर्यनारायण फाँजू,– वडा नम्बर–३ का ‘लसुन’ चुनाव चिह्नका हरिसुन्दर लवजू, ४ का विश्वराम त्वायना, चुनाव चिऋन ‘जाँतो’, ५ का नारायणभक्त भेलेको चुनाव चिह्न ‘ओखर’ले शून्य मत प्राप्त गरेका थिए ।

त्यसैगरी, वडा नम्बर–६ का ‘भुइँकटर’ निर्वाचन चिह्न प्राप्त गरेका विद्यान धुसा, ‘चुलेसी’ निर्वाचन चिह्नका पूर्णभक्त सुवाल, ७ का ‘टडी’ निर्वाचन चिह्न प्राप्त गरेका रोमश्वर प्रजापति, ८ का ‘डाक्टर’ निर्वाचन चिह्नका कृष्णप्रसाद कोजू, ९ का ‘सोली’ निर्वाचन चिह्नका विष्णुभक्त कुसी र १० का ‘ह्याट’ निर्वाचन चिह्न प्राप्त गरेका भरतप्रसाद भद्राले शून्य मत प्राप्त गरेका हुन् ।

त्यसैगरी, वडा नम्बर–१० का वडासदस्यका स्वतन्त्र उम्मेदवार मोहनकुमार ह्योगोजूले पनि शून्य मत प्राप्त गरेका छन् । उनको चुनाव चिह्न ‘बाघ’ थियो ।

Local Election

विशेष