News

जुँगु हत्याकाण्डका दोषीलाई पक्राउ गर्न पीडित परिवारको माग

जुँगु हत्याकाण्डका दोषीलाई पक्राउ गर्न पीडित परिवारको माग

स्थानीय चुनावको ४ दिनअघि दोलखाको गौरीशंकर गाउँपालिका २, जुँगुमा मारिएका कुलवहादुर तामाङको परिवारले हत्यामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कारवाही अघि बढाउन माग गरेका छन् ।

कुलहादुरका पिता गोरे तामाङ, श्रीमती साङमाया तामाङ र उनका छोरा छोरीले मंगलबार चरिकोटमा पत्रकार सम्मेलन गरी माओवादी नेता कार्यकर्ता हत्यामा संलग्न भएको र उनीहरुलाई प्रहरीले खुलेआम छाडेको भन्दै असन्तुष्टि जनाए ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ- निर्दाेषको हत्या जस्तो जघन्य अपराध भएको यति धेरै समय वितिसक्दा पनि हत्याराहरु पक्राउ गरी अनुसन्धान र कारवाही नहुँदा हामी थप मर्माहत बनेका छौं, आतंकित पनि छौं ।’

देवी खडका र बिशाल खडकाको योजनामा नै हत्या भएको भन्दै पीडित परिवारले उनीहरुलाई पक्राउ नगर्दा उल्टै धम्की आउन थालेको बताउका छन् ।

घटना घटाएको भोलिपल्ट बैशाख २७ गते जुँगुमै देवी र बिशाल खडकालाई पक्राउ गरे पनि प्रहरीले सुरक्षित ठाउँमा लगेर छाडेको दावी गोरे तामाङको छ । उनले भने, ‘कुनै पनि बहानामा मान्छे मार्ने, कुट्पिट गर्ने काममा संलग्न अभियुक्तलाई जोगाउने प्रयन्त नहोस् । हामी सोझो छौं, जे गरे पनि हुन्छ भन्ने सोचाई नहोस् ।’

पत्रकार सम्मेलनमा मृतकी पत्नी साङमायाले आफूहरुलाई अहिले पनि माओवादीबाट धम्की आइरहेको बताइन् ।
वैशाख २६ गते जुँगुको रेशमडाँडास्थित लक्ष्मण जिरेलको होटलमा बसिरहेका बेला कुलबहादुरसहित एमालेका कार्यकर्तामाथि माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । कुलवहादुर एक महिनाअघिमात्र माओवादी छाडेर एमाले बनेका थिए ।

उनका पिता गोरेलाई एमालेले वडाध्यक्षको उम्मेदवार बनाएपछि तुनाव प्रचारका लागि उनी काठमाडौंबाट गाउँ गएका थिए ।

घटनामा संलग्न रहेको भन्दै कुलबहादुरका परिवारले माओवादी नेताहरु देवी खड्का, विशाल खड्का लगायत ३९ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । प्रहरीले ८जनालाई पक्राउ गरे पनि माओवादी नेताहरुलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलनमा मृतकका परिवारले प्रहरी प्रशासन एकपक्षीय भएको आरोप लगाए ।

आक्रमणका घाइते भएका शिक्षक दिलवहादुर बुढाथोकीको काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

विशेष