News

खगेन्द्र थापा मगर आइसियुमा

खगेन्द्र थापा मगर आइसियुमा

जेठ १७ । विश्वकै होचा व्यक्ति मध्येका एकमा गिनिज बुकमा नाम लेखाउन सफल भएका खगेन्द्र थापा मगर स्वास्थ्यमा समस्या आएको छ । स्वास प्रस्वासमा समस्या आएपछि उनी यतिबेला अस्पताल भर्ना भएका छन् ।

खगेन्द्रको सेतो रक्तकोशिका बढी र हेमोग्लोविन कम देखिएको छ । एक हप्ताअघि अस्पताल भर्ना भएका उनी बुधबार बेहोस् भएपछि अहिले आईसियुमा राखेर उपचार भइरहेको छ ।

बुधबारदेखि आईसियुमा रहेका उनको अहिले क्रमिक सुधार आइरहेको बताइएको छ । यद्यपि उनको रक्तचाप अझैपनि सामान्य बन्न सकेको छैन । खगेन्द्रको रक्तचाप कहिले हृवात्तै माथि जाने र कहिले हृवात्तै घट्ने समस्या देखिएको छ भने टाउको धान्न पनि गाह्रो हुने समस्या देखिएको छ ।

थप उपचारको लागि काठमाडौं लैजानेबारे पनि छलफल भइरहेको छ । खगेन्द्रको उपचार अस्पतालले निःशुल्क गर्दै आएको छ । तर, औषधि भने आफैले खरिद गरिरहनु परेको छ ।

बाग्लुङ धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र हाल पोखराको सृजनाचोकमा बस्दै आएका छन् । उनले विश्व कीर्तिमान कायम गरेको ८ महिनामै रेकर्ड भंग भएको थियो । उनको रेकर्ड जुनरी बालाविङले आफ्नो नाममा लेखाए । उनको कीर्तिमान नेपालका चन्द्रबहादुर डाँगीले तोडेका थिए । तर, उनको निधन भएपछि जीवित होचा व्यक्तिको रेकर्ड जुनरी बालाविङको नाममा छ ।

अहिलेसम्मका होचा व्यक्ति भने चन्द्रबहादुर नै हुन् । जीवित होचा व्यक्ति जुनरी बालाविङ हुन् भने दोस्रो होचा व्यक्ति खगेन्द्र हुन् ।

khagendra thapa magar

विशेष