विदेश

ट्रम्पले गरे उत्तर कोरियाली शासकको प्रशंसा

ट्रम्पले गरे उत्तर कोरियाली शासकको प्रशंसा
वैशाख १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई ‘कठिन परिस्थिति राम्रोसँग सामना गर्ने अत्यन्त चलाख नेता’ भनेका छन् । अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको कुुराकानीमा ट्रम्पले उत्तर कोरियाली नेताले सानो उमेरमै सत्ता सम्हालेको र यस्तोमा पनि केही अत्यन्त कडा व्यक्तिको सामना गर्नुपरेको बताए । उत्तर कोरियाविरुद्ध अमेरिकाले सैन्य कारवाही गर्ने चर्चा चलिरहेको विषयमा भने ट्रम्पले स्पष्ट जवाफ दिएनन् । उत्तर कोरियाको सहयोगी चीनले उत्तर कोरियालाई परमाणु र सैन्य गतिविधि कम गर्न दबाब दिए पनि त्यो सफल नभएको उनको भनाइ थियो । उत्तर कोरियाले पछिल्लो दुई हप्ताभित्र दुई पटक गरेको मिसाइल परीक्षण असफल भएको छ । उत्तर कोरियाले लामो दूरीको मिसाइलमा साना परमाणु हतियार राख्न सकिने गरि बनाउने कोशिस गरिरहेको छ । यसको मार हान्ने क्षमता अमेरिकासम्म पुग्ने विश्वास गरिएको छ । कोरियाली प्रायद्वीपमा अहिले तनावको स्थिति छ । उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरिरहेको छ भने छैटौं परमाणु परीक्षण गर्ने चेतावनी दिएको छ ।

Donald Trump

विशेष